काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा बढुवा भएका चार जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
जंगी अड्डामा आयोजित विशेष समारोहबीच प्रधानसेनापति सिग्देलले सहायक रथीमा बढुवा भएका सोबेन्द्रसिंह महत र प्रकाश थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
त्यसैगरी महासेनानीमा पदोन्नति भएका मदनजङ्ग राणा तथा प्राविधिकतर्फ महासेनानीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे।
दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति सिग्देलले बढुवा भएका अधिकृतलाई नयाँ जिम्मेवारीसँगै संगठनप्रतिको दायित्व थपिएको सन्देश दिएका थिए।
समारोहमा नेपाली सेनाका रथी तथा अधिकृतहरूका साथै बढुवा भएका सैनिक अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।
बढुवासँगै चारै अधिकृतले नेपाली सेनाको नेतृत्वदायी जिम्मेवारीमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
