काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा साझेदारीलाई थप सुदृढ गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।
उनले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गर्दै जोखिमआधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी अनुसन्धानमा प्रविधिको रणनीतिक उपयोग बढाउनुपर्नेमा जोड दिए।
विगतका घटना तथा अनुभवबाट सिक्दै सूचना संकलन र विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना निर्माण गरी प्रहरीलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
आईजीपी कार्कीले प्रहरी संगठनभित्र योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन तथा आन्तरिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिए।
समीक्षा बैठकमा उठेका विषयलाई छलफलमा मात्रै सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्न र देखिएका कमीकमजोरी सुधार गर्दै केन्द्र तथा प्रदेश प्रहरीबीच कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने उनले बताए।
बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
त्यसक्रममा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, बदलिँदो सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।
आईजीपी कार्कीले प्रहरी सेवा प्रभावकारी बनाउन नागरिकको विश्वास जित्ने, सूचना र प्रविधिको अधिकतम उपयोग गर्ने तथा संगठनभित्रको अनुशासन र उत्तरदायित्वलाई बलियो बनाउने दिशामा अघि बढ्न समेत निर्देशन दिए।
