काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसमा भएको आगलागी नहुनुपर्ने घटना थियो। चालक गम्भीर घाइते भएका छन्, घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र वास्तविकता बाहिर आउनुपर्छ।
तर घटनाको पूर्ण यथार्थ बाहिर नआउँदै ‘ट्राफिक प्रहरीले कारबाही गरेपछि चालकले बसमा आगो लगाए’ भनेर सामाजिक सञ्जालदेखि केही सञ्चारमाध्यममा व्याख्या हुन थालेपछि अर्को गम्भीर प्रश्न उठेको छ- के घटनाको सम्पूर्ण तथ्य नखुलेसम्म ट्राफिक प्रहरीलाई दोषी ठहर गर्नु न्यायोचित हुन्छ ?
घटनाअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई कुनै गल्ती नगरेको भन्दै जरिवाना गर्न खोजिएको गुनासो गरेका छन्।
तर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले भने उपलब्ध विवरणअनुसार लामामाथि कुनै कारबाही नै नगरिएको बताएका छन्। विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज हेरिरहेको उनको भनाइ छ।
त्यसैले अहिले उपलब्ध तथ्यले ‘ट्राफिकको कारबाहीपछि चालकले आगो लगाए’ भन्ने निष्कर्षलाई अन्तिम सत्यका रूपमा स्थापित गर्दैन। बरु चालक र ट्राफिक प्रहरीबीच विवाद भएको, त्यसपछि बसमा आगलागी भएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको तथ्य मात्रै स्पष्ट छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चालक आफैंले आगो लगाएको हुनसक्ने देखाएको भए पनि किन त्यस्तो अवस्था आयो भन्ने प्रश्नको उत्तर अनुसन्धानपछि मात्रै आउनेछ।
यही ठाउँमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको जिम्मेवारी पनि जोडिन्छ।
घटना भएको केही समयमै कुनै एउटा पक्षलाई दोषी देखाउने निष्कर्षमा पुग्नु कति उचित हुन्छ ? अझ प्रहरीको आधिकारिक धारणा नै फरक रहेको अवस्थामा घटनाको सम्पूर्ण अनुसन्धान पूरा नहुँदै एउटा पक्षलाई दोषी करार गर्नुले वास्तविक तथ्यलाई ओझेलमा पार्न सक्छ।
घटना दुःखद छ, तर ट्राफिक प्रहरीले अब के गर्ने ?
त्रिपुरेश्वरमा जे भयो, त्यो दुःखद छ। चालक गम्भीर घाइते हुनु आफैंमा पीडादायी घटना हो। यस्तो घटना फेरि नदोहोरियोस् भन्ने नै सबैको चाहना हो।
तर घटनालाई लिएर उठेको बहसको अर्को पाटो पनि छ।
सार्वजनिक गाडीका चालकसँग विवाद भयो भन्दैमा ट्राफिक प्रहरीले अब कानुन कार्यान्वयन गर्न छाड्ने हो ?
सडकमा ट्राफिक नियम उल्लंघन भए त्यसलाई रोक्ने, आवश्यक कारबाही गर्ने र सवारी व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हो। कारबाहीका क्रममा चालक असन्तुष्ट हुन सक्छन्, भनाभन हुन सक्छ। कुनै प्रहरी कर्मचारीले गलत व्यवहार गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्छ।
तर प्रहरीको कर्तव्य नै त्याग्ने अवस्था सिर्जना गर्नु समाधान होइन।
मानौं, कसैको घर चोरी भयो। प्रहरीले अनुसन्धान गरेर चोर पत्ता लगायो। अब चोर पक्राउ गर्दा उसले अर्को अप्रिय घटना गर्ला कि भनेर प्रहरीले पक्राउ नगर्ने हो ?
कसैले कानुन उल्लंघन गर्यो र प्रहरीले पक्राउ वा कारबाही गर्न खोज्दा उसले प्रतिरोध गर्न सक्छ भन्दैमा प्रहरी पछि हट्ने हो भने राज्यले बनाएको कानुन कार्यान्वयन कसरी हुन्छ ?
यही प्रश्न त्रिपुरेश्वर घटनाले उठाएको छ।
ट्राफिक प्रहरीको गल्ती भए कारबाही होस्, तर प्रमाण नआउँदै दोष नथुपारौं
ट्राफिक प्रहरी पनि कानुनभन्दा माथि छैनन्। कुनै प्रहरी कर्मचारीले अनुचित व्यवहार गरेको छ भने छानबिन हुनुपर्छ। घुस लिएको, पक्षपात गरेको वा अधिकारको दुरुपयोग गरेको प्रमाणित भए कारबाही हुनुपर्छ।
तर त्यसको विपरीत, घटनाको कारण नै यकिन नभइसकेको अवस्थामा ट्राफिक प्रहरीलाई घटनाको जिम्मेवार ठहर गर्नु पनि न्यायोचित हुँदैन।
अहिलेको अवस्थामा दुईवटा विषय अलग–अलग हेर्नुपर्छ।
पहिलो- चालक र ट्राफिक प्रहरीबीच के भएको थियो ? दोस्रो- त्यसपछि चालकले बसमा किन आगो लगाए ? यी दुवै प्रश्नको उत्तर अनुसन्धानले दिनुपर्छ।
छानबिन समिति गठन
घटनाको वास्तविकता पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
समितिले घटनाअघि चालक र ट्राफिक प्रहरीबीच भएको विवाद, सीसीटीभी फुटेज, घटनास्थलको अवस्था तथा उपलब्ध अन्य प्रमाणको अध्ययन गर्नेछ।
यसकारण छानबिन समितिको प्रतिवेदन आउनुअघि नै घटनाको अन्तिम निष्कर्ष निकाल्नु हतार हुनेछ।
प्रहरीको मनोबलको प्रश्न
सडकमा ट्राफिक प्रहरीको काम सजिलो छैन। घाम, पानी, धुलो, धुवाँ र निरन्तरको सवारी चापबीच उनीहरूले दैनिक हजारौं सवारीसाधन व्यवस्थापन गर्नुपर्छ।
नियम उल्लंघन गर्ने चालकलाई रोक्नु उनीहरूको कर्तव्य हो। चालकले चित्त नबुझ्न सक्छन्। विवाद हुन सक्छ। तर हरेक विवादको डरले प्रहरी आफ्नो जिम्मेवारीबाट पछि हट्ने हो भने सडकमा नियम कसले लागू गर्ने ?
प्रहरीले गल्ती गरे प्रश्न उठाउनुपर्छ। तर प्रहरीले गल्ती गरेको हो कि होइन भन्ने नै अनुसन्धानबाट पत्ता लगाउनुपर्ने अवस्थामा सामाजिक सञ्जालको निष्कर्षलाई अन्तिम सत्य मान्नु पनि उचित हुँदैन।
त्रिपुरेश्वर घटनाले यही सन्देश दिएको छ- घटना दुःखद छ, चालकप्रति सहानुभूति आवश्यक छ, तर सत्य पत्ता लगाउनुअघि दोषी पनि खोज्नु हुँदैन।
अन्ततः छानबिनले घटनाको वास्तविकता बाहिर ल्याओस्। ट्राफिक प्रहरीबाट गल्ती भएको भए कारबाही होस्।
तर एउटा प्रश्न भने बाँकी नै रहन्छ- कानुन कार्यान्वयन गर्ने क्रममा विवाद भयो भन्दैमा प्रहरी आफ्नो कर्तव्यबाट पछि हट्ने हो भने, राज्यको कानुन कसले कार्यान्वयन गर्ने ?
