झापा । पछिल्लो समय झापामा सवारी दुर्घटनाका घटना बढ्दै गइरहेका बेला जिल्ला ट्राफिक प्रहरीको कार्यशैली र ट्राफिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा ट्राफिक व्यवस्थापनभन्दा आर्थिक गतिविधिमा बढी ध्यान दिइएको भन्दै केही यातायात व्यवसायी तथा सरोकारवालाले गुनासो गरेका छन्।
ट्राफिक प्रहरी र केही यातायात तथा ढुवानी व्यवसायीबीच अस्वाभाविक निकटता रहेको, व्यवसायीको प्रभावमा कतिपय निर्णय हुने गरेको तथा दुर्घटना वा ट्राफिक कारबाहीसँग जोडिएका विषयमा समेत ‘केस मिलाउने’ प्रयास हुने गरेको आरोपसमेत लगाइएको छ।
विशेषगरी पूर्वेली ढुवानी सेवा तथा मेची बस सेवा/झापा बस सेवासँग सम्बन्धित गतिविधिमा ट्राफिक प्रहरीको भूमिका र निर्णयमाथि प्रश्न उठाइएको छ। केही व्यवसायीबाट नियमित रूपमा रकम उठाउने गरिएको आरोपसमेत छ।
त्यस्तै, झापाका विभिन्न सडक क्षेत्रमा आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका वा अनुमति सम्बन्धी प्रश्न उठेका भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि ट्राफिक प्रहरीले समान ढंगले कारबाही नगरेको गुनासो पनि सुनिन थालेको छ।

प्रहरी निरीक्षक राई झापामा आएयता ट्राफिक व्यवस्थापनका तुलनामा आर्थिक गतिविधि र व्यवसायीसँगको समन्वयलाई प्राथमिकता दिएको आरोप छ।
झापा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्रसमेत रहेको जिल्ला भएकाले यहाँको सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रहरी नेतृत्वको कार्यसम्पादन थप चासोको विषय बनेको छ।
प्रदेशस्तरीय प्रहरी नेतृत्वको जानकारीबिना वा त्यसलाई गुमराहमा राखेर कुनै आर्थिक गतिविधि भइरहेको हो भने त्यसबारे समेत छानबिन आवश्यक देखिन्छ।
यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको सम्बन्ध नियमित समन्वयको हिस्सा हो वा त्यसले कारबाही र निर्णय प्रक्रियालाई प्रभावित गरेको छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।
