धनगढी । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविन धितालको कमान्डमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरकै उत्कृष्ट बनेको छ।
प्रहरी प्रधान कार्यालयले भदौ महिनामा गरेको कार्यसम्पादन मूल्यांकनमा देशभरका प्रहरी तालिम केन्द्रमध्ये प्रदेश प्रहरी तालिम केन्द्र दिपायल पहिलो भएको हो।
तालिम केन्द्रको समग्र कार्यसम्पादन, तालिम व्यवस्थापन तथा निर्धारित जिम्मेवारीको प्रभावकारी कार्यान्वयनलगायतका सूचकका आधारमा गरिएको मूल्यांकनमा दिपायल तालिम केन्द्रले उत्कृष्ट नतिजा हासिल गरेको हो।
तालिम केन्द्रको नेतृत्व एसएसपी प्रविन धितालले गरिरहेका छन्। उनको कमान्डमा रहेको तालिम केन्द्रले कार्यसम्पादनमा देशभरका अन्य तालिम केन्द्रलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।
प्रहरी संगठनमा दक्ष, अनुशासित र व्यावसायिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी तालिम केन्द्रहरूको हुन्छ। प्रहरी कर्मचारीको आधारभूतदेखि विभिन्न विशिष्टीकृत तालिम सञ्चालन गर्ने जिम्मेवारीसमेत तालिम केन्द्रले सम्हाल्दै आएका छन्। त्यसैले कार्यसम्पादन मूल्यांकनमा तालिम केन्द्रको नतिजालाई संगठनभित्र महत्वपूर्ण रूपमा हेरिन्छ।
सुदूरपश्चिम प्रदेश प्रहरीको समग्र कार्यसम्पादनसमेत भदौ महिनामा देशभर उत्कृष्ट देखिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले कुल ३८६ पूर्णाङ्कमा ३३९.९८ अंक प्राप्त गर्दै देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको छ। त्यस्तै, सोही प्रदेशअन्तर्गतको तालिम केन्द्र दिपायल पनि देशभरका तालिम केन्द्रमध्ये पहिलो बनेको हो।
प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्र दुवैले उत्कृष्ट नतिजा हासिल गरेपछि सुदूरपश्चिम प्रहरीको भदौ महिनाको कार्यसम्पादन समग्र रूपमा अब्बल देखिएको छ।
प्रहरी प्रधान कार्यालयले हरेक महिना विभिन्न सूचकका आधारमा प्रहरी कार्यालय तथा इकाइहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। सोही मूल्यांकनको नतिजामा दिपायल तालिम केन्द्रले हासिल गरेको पहिलो स्थानले एसएसपी धितालको नेतृत्वमा रहेको टिमको कार्यसम्पादनलाई पनि थप चर्चामा ल्याएको छ।
देशभरका तालिम केन्द्रबीच प्रतिस्पर्धात्मक मूल्यांकनमा पहिलो स्थान हासिल गर्नु दिपायल तालिम केन्द्रका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।
