धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कार्यसम्पादनमा देशभरकै उत्कृष्ट बनेको छ। प्रहरी प्रधान कार्यालयले भदौ महिनाका लागि गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सबै प्रदेशलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीले कुल ३८६ पूर्णाङ्कमा ३३९.९८ अंक प्राप्त गरेको छ। सुदूरपश्चिमको यो नतिजा प्रदेश प्रहरीको समग्र कार्यसम्पादनसँगै नेतृत्वको कार्यशैलीलाई समेत जोडेर हेरिएको छ। प्रदेश प्रहरीको नेतृत्व अहिले डीआईजी सानुराम भट्टराईले गरिरहेका छन्।
भट्टराईको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले संगठनात्मक अनुशासन, अपराध नियन्त्रण, अनुसन्धान, प्रहरी परिचालन तथा मातहतका कार्यालयहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउनेतर्फ निरन्तर जोड दिँदै आएको छ। त्यसको प्रतिफलका रूपमा प्रदेश प्रहरी कार्यालयले मासिक मूल्यांकनमा देशभर पहिलो स्थान हासिल गरेको हो।
कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दोस्रो भएको छ। प्रहरी प्रधान कार्यालयले हरेक महिना प्रदेश तथा मातहतका प्रहरी कार्यालयहरूको विभिन्न सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।
सुदूरपश्चिमको उत्कृष्ट प्रदर्शन प्रदेश प्रहरी कार्यालयमा मात्र सीमित छैन। प्रदेश तालिम केन्द्र दिपायल तालिम केन्द्रतर्फ पहिलो बनेको छ भने ट्राफिक प्रहरी कार्यालय अत्तरिया तेस्रो स्थानमा परेको छ।
जिल्लातर्फ पनि सुदूरपश्चिमका प्रहरी कार्यालयहरूले उल्लेख्य प्रदर्शन गरेका छन्। हिमाली जिल्लातर्फ अघिल्लो महिना उत्कृष्ट बनेको जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नो उत्कृष्टता कायम राख्दै भदौमा पनि पहिलो स्थान हासिल गरेको छ। दार्चुला दोस्रो र बाजुरा चौथो भएका छन्।
तराईतर्फ क वर्गमा जिल्ला प्रहरी कार्यालय कैलाली पाँचौँ तथा ख वर्गमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर दोस्रो स्थानमा छन्। पहाडी जिल्लातर्फ अछाम पाँचौँ, डडेल्धुरा १४ औँ र बैतडी २१ औँ स्थानमा रहेका छन्।
यसरी हेर्दा प्रदेश प्रहरी कार्यालयदेखि तालिम केन्द्र, ट्राफिक कार्यालय र जिल्लास्तरीय प्रहरी इकाइसम्म सुदूरपश्चिम प्रहरीको कार्यसम्पादनमा सुधार र निरन्तरताको संकेत देखिएको छ।
प्रदेश प्रहरीको नेतृत्व सम्हालेका डीआईजी भट्टराईका लागि भने यो नतिजा नेतृत्वको मूल्यांकन गर्ने महत्वपूर्ण आधार बनेको छ। एउटै महिनाको मूल्यांकनले समग्र कार्यसम्पादनको पूर्ण चित्र नदिए पनि लगातार राम्रो नतिजा हासिल गर्ने प्रयासले नेतृत्व र मातहतको टिमबीचको समन्वयलाई संकेत गर्ने गर्छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गर्ने मासिक कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमले हासिल गरेको यो पहिलो स्थानले प्रदेश प्रहरीभित्रको कार्यसम्पादनलाई थप संस्थागत र प्रभावकारी बनाउने चुनौतीसमेत थपेको छ।
