सिरहा । ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिएर फरार भएका संगठित अपराधका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका छन् । प्रहरीका अनुसार उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालकसमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८१ माघ १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका–२ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनापछि प्रहरी टोलीले टाटा सफारी रोकेर जाँच गर्न खोजेको थियो ।
सो क्रममा गाडीमा सवार व्यक्तिहरूले ड्युटीमा रहेका सई यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनापछि उनीहरू गाडी छाडेर फरार भएका थिए ।
घटनापछि प्रहरीले संगठित अपराध तथा ज्यान मार्ने प्रयाससम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । लामो समयदेखि फरार रहेका प्रतिवादीमध्ये मुख्य अभियुक्त मंसुरीलाई २२ महिनापछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
डीएसपी पालका अनुसार २०८३ भदौ ३ गते साँझ करिब ७ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक मंसुरीलाई नियन्त्रणमा लिन प्रहरी टोली पुगेको थियो ।
त्यस क्रममा मंसुरीसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड गोली चलाएको प्रहरीको दाबी छ । प्रहरीमाथि फायर भएपछि जवाफी कारबाही गरिएको डीएसपी पालले बताए ।
प्रहरीले तीन राउन्ड गोली चलाएकोमा जवाफी फायरिङका क्रममा मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका मंसुरीलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । सीमाक्षेत्रमा हुने मदिरा तथा अन्य अवैध वस्तुको तस्करी नियन्त्रणका क्रममा प्रहरीमाथि भएको आक्रमणलाई समेत गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
मुख्य अभियुक्त मंसुरी पक्राउ परेसँगै घटनामा प्रयोग भएको हतियार, तस्करीमा संलग्न अन्य व्यक्ति तथा उनीहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
