काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनाअनुसार असई पदका लागि कुल २११ जनाको माग गरिएको हो। त्यसमध्ये खुलातर्फ ११४ पद रहेका छन् भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको प्रहरीले जनाएको छ।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक ७ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। असई पदका लागि अधिकतम उमेर २५ वर्ष तोकिएको छ।
दरखास्त नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत अनलाइनबाटै दिन सकिने व्यवस्था गरिएको छ।
यसैगरी नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी पदका विभिन्न श्रेणीमा समेत नयाँ भर्ना आह्वान गरेको छ। कार्यालय सहयोगीअन्तर्गत विभिन्न पदमा गरी कुल १२३ जनाका लागि दरखास्त माग गरिएको छ।
प्रहरीका अनुसार कार्यालय सहयोगीअन्तर्गत भान्से पदमा ८३ जना, हजाम पदमा १५ जना र कुचीकार पदमा २५ जना माग गरिएको छ।
यसरी नेपाल प्रहरीले असई र कार्यालय सहयोगीका विभिन्न पदमा गरी कुल ३३४ पदमा नयाँ भर्ना खुलाएको हो।
इच्छुक उम्मेदवारले आवेदन दिनुअघि नेपाल प्रहरीले प्रकाशित गरेको आधिकारिक सूचना, आवश्यक शैक्षिक योग्यता, उमेर, दस्तुर, परीक्षा तथा छनोटसम्बन्धी मापदण्डलगायत विवरण अनिवार्य रूपमा हेर्नुपर्नेछ।
आवेदन तथा विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध सूचनाबाट हेर्न सकिनेछ।
