काठमाडौं । सरकारी पदाधिकारीसँग आफ्नो निकट सम्बन्ध रहेको देखाउन कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तस्वीर बनाएको आरोपमा झापाका एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्माले झापा प्रहरी प्रमुख बसुन्धरा खड्कासँग आफू निकट रहेको देखाउने उद्देश्यले एआई प्रविधिबाट तयार पारिएको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए।
उक्त तस्वीरमा प्रहरी प्रमुख खड्काले विश्वकर्मालाई बधाई तथा शुभकामना दिइरहेको देखिन्छ। विश्वकर्माले गत असार २२ गते आफ्नो फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै आफूले प्राप्त गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए। सोही क्रममा उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित भएको दाबीसमेत गरेका थिए।
तर, जिल्ला प्रहरी कार्यालय झापाले गरेको प्रारम्भिक अनुसन्धानबाट उक्त तस्वीर वास्तविक नभई एआई प्रविधिबाट सिर्जना गरिएको खुलेको जनाएको छ। प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा तस्वीरको प्रहरी कार्यालय वा कार्यालय प्रमुखसँग कुनै आधिकारिक सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
प्रहरीले विश्वकर्मालाई सोमबार चन्द्रगढीबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। सरकारी तथा राजनीतिक पदको दुरुपयोग गर्दै विभिन्न कार्यालयमा पहुँच बनाएको र धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
आफूलाई प्रधानमन्त्रीको सचिवालय सदस्य बताउँदै सरकारी कार्यालय पुगेको आरोप
प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गर्दै विभिन्न सरकारी कार्यालयमा पुग्ने गरेका थिए। यही परिचयका आधारमा उनले सरकारी कार्यालय तथा सार्वजनिक सरोकारका बैठकमा समेत पहुँच बनाएको प्रहरीको भनाइ छ।
प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयबाट उनलाई सरकारी सवारीसाधनसमेत उपलब्ध गराइएको प्रहरी स्रोतले जनाएको छ। सोही सवारीसाधन प्रयोग गरेर उनी विभिन्न सरकारी कार्यालयको अनुगमनमा जाने गरेको बताइएको छ।
हल्दिबारी गाउँपालिकालगायतका क्षेत्रमा पुगेर फर्किएपछि उनको गतिविधि शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको तथा प्रधानमन्त्रीको सचिवालयमा पनि नरहेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विश्वकर्माको सामाजिक सञ्जालमा रास्वपाका नेताहरूसँग खिचिएका तस्वीर, पार्टीका महाधिवेशनसम्बन्धी गतिविधि तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका तस्वीरलगायतका सामग्री भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुखसँगको भनिएको तस्वीरमा उपसभामुख रुवीकुमारी ठाकुरको समेत बधाईसहितको टिप्पणी देखिएको उल्लेख गरिएको छ। यद्यपि प्रहरीको दाबीअनुसार मूल तस्वीर नै एआई प्रविधिबाट सिर्जना गरिएको हो।
विश्वकर्माले फेसबुकमा आफूलाई रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा प्रस्तुत गरेको सामग्रीसमेत राखेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक व्यक्तित्व, सरकारी निकाय वा पदाधिकारीको नाम, पद र छवि दुरुपयोग गरी भ्रम फैलाउने तथा सर्वसाधारणलाई दिग्भ्रमित पार्ने कार्य कानुनविपरीत हुने चेतावनी दिएको छ।
प्रहरीले विश्वकर्माले झुटो परिचय प्रयोग गरेर कसैबाट लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्याएको भए प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
