काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेशका निर्वाचित सांसदहरूले पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफूहरूमाथि गरेको कारबाही र सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
बुधबार जारी संयुक्त प्रेस वक्तव्यमा सांसदहरूले ‘अर्को पार्टीसँग बिकेको’ र ‘अर्काको ओछ्यान तताएको’ जस्ता अभिव्यक्ति राजनीतिक बहस नभई व्यक्तिगत अपमान तथा चरित्रमाथिको प्रहार भएको बताएका छन्।
उनीहरूले सांसदहरू कुनै पार्टी अध्यक्षको व्यक्तिगत सम्पत्ति नभई हजारौँ मतदाताको मतबाट निर्वाचित जनप्रतिनिधि भएको स्मरण गराउँदै पार्टीभित्रको असहमति वा विवादलाई व्यक्तिगत अपमानमा परिणत नगर्न नेतृत्वलाई आग्रह गरेका छन्।
सांसदहरूले अध्यक्ष लिङ्देनसमक्ष ‘सांसदहरू बिकेको भए प्रमाण कहाँ छ?’, पार्टी हितविपरीत काम गरेको भए त्यसको तथ्य र प्रमाण सार्वजनिक किन नगरिएको तथा कारबाहीअघि सम्बन्धित सांसदलाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसर दिइएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाएका छन्।
उनीहरूले प्रदेश सांसदहरूमाथि गरिएको कारबाहीको कानुनी तथा संगठनात्मक आधार र आरोपका प्रमाण सार्वजनिक गर्न, अपमानजनक अभिव्यक्ति फिर्ता लिन तथा सम्बन्धित सांसदको कुरा निष्पक्ष रूपमा सुन्ने वातावरण बनाउन माग गरेका छन्।
उद्धव थापा, गिरबहादुर तामाङ, डम्बर तामाङ, मोनिका श्रेष्ठ, राजु बिष्ट, राजेन्द्र प्रजापति र नुरज बज्राचार्यले हस्ताक्षर गरेको वक्तव्यमा पार्टी अनुशासनका नाममा मनपरी, नेतृत्वका नाममा अपमान र जनताको मतको अपमान स्वीकार्य नहुने स्पष्ट पारिएको छ।
सांसदहरूले विवादलाई राजनीतिक प्रतिशोधमा परिणत नगर्न आग्रह गर्दै ‘मतभेद लोकतन्त्रको सुन्दर पक्ष हो, तर अपमान लोकतन्त्रको संस्कार होइन’ भन्दै आफ्नो असहमति सार्वजनिक गरेका छन्।
