काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोबाट नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार मंगलबार बिहान करिब २ बजे परिसर र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू जुवातास खेलिरहेको अवस्थामा फेला परेका थिए। उनीहरूको साथबाट ९ वटा मोबाइल, विभिन्न दरका ११५ वटा क्यासिनो क्वाइन र नेपाली रुपैयाँ १० लाख ८५ हजार ६ सय बरामद गरिएको छ।
बरामद क्वाइनमा ५० हजार रुपैयाँ लेखिएको ८ वटा, १० हजार रुपैयाँ लेखिएको १९ वटा, १ हजार रुपैयाँ लेखिएको ८८ वटा र १०० रुपैयाँ लेखिएको ५ वटा रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ थली बस्ने ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालु गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३९ वर्षीय नुवाङ शेर्पा, सोलुखुम्बु दूधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३९ वर्षीय पासाङ शेर्पा र सिन्धुली गोलन्जोर गाउँपालिका–५ घर भई कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३२ वर्षीया ज्योति मगर छन्।
त्यस्तै दोलखा वैतेश्वर गाउँपालिका–८ घर भई काठमाडौंको बानेश्वर बस्ने ३५ वर्षीय नारायण खत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ का ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–१ घर भई काठमाडौंको ठमेल बस्ने ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३२ वर्षीय सञ्जय तामाङ रहेका छन्।
यस्तै रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने ४० वर्षीय आशिष खड्का, ललितपुर महानगरपालिका–६ का ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ घर भई काठमाडौंको पेप्सीकोला बस्ने ३० वर्षीय सुदीप अधिकारी पक्राउ परेका छन्।
प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूमाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
