विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४, निमुवा चोकमा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ।
कोशी राजमार्गअन्तर्गत वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ७९१३ नम्बरको बसले बाटो काट्ने क्रममा प्रदेश १–०४–००२ प ३६४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा चोट लागेको थियो।
गम्भीर घाइते खड्कालाई उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
मृतक खड्काको शव विराट मेडिकल कलेजमा राखिएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
