- राजेन्द्र बाबू रेग्मी
नेपाली कांग्रेसभित्र एकैपटक देखिएको अस्वाभाविक हलचललाई सामान्य राजनीतिक गतिविधि भनेर पन्छाउन मिल्दैन। पार्टी विभाजनको रेखा कोर्न खोजिँदैछ कि नेतृत्वलाई कमजोर बनाउने अर्को कुनै खेल भइरहेको छ? प्रश्न गम्भीर छ। अझ गम्भीर कुरा त के छ भने, यो खेल कांग्रेसभित्र मात्र सीमित छ कि राज्यका संस्थासम्म यसको छाया पुगिसकेको छ?
राजनीतिक जीवनको उत्तरार्धमा पुगिसकेका शेरबहादुर देउवालाई अहिले देश दौडाएर आखिर खोजिएको के हो? यो सक्रियता हो कि कसैको राजनीतिक हिसाबकिताब मिलाउने प्रयास? जनताले प्रश्न गर्न पाउनुपर्छ।
युवा अवस्थामा पनि देउवाको दिनचर्यालाई लिएर राजनीतिक वृत्तमा अनेक टिप्पणी हुने गर्थे। बिहान ८ बजेसम्म ओछ्यानमै रहने, त्यसपछि मात्र राजनीतिक गतिविधिमा निस्कने उनको पुरानो प्रवृत्तिसमेत कहिलेकाहीँ चर्चाको विषय बन्ने गरेको थियो।
राजनीति चौबीसै घण्टा जागा रहनुपर्ने कर्म हो। तर आजको प्रश्न देउवा कति बजे उठ्छन् भन्ने होइन, प्रश्न यो हो- जीवनको उत्तरार्धमा उहाँलाई कसले, किन र कुन उद्देश्यका लागि देश दर्शन गराइरहेको छ?
राजनीतिक सक्रियता र राजनीतिक उपयोगबीच ठूलो अन्तर हुन्छ। इतिहासले यो अन्तर छुट्याउन धेरै समय लगाउँदैन।
अर्कोतर्फ गगन थापा अपमान, असन्तुष्टि र आन्तरिक दबाबको विष पिएर पनि पार्टीलाई जोड्ने प्रयास गरिरहेका छन्। कांग्रेसलाई विभाजनतर्फ धकेल्ने शक्ति बलियो हो कि पार्टी जोगाउने प्रयास? अब कांग्रेसकै कार्यकर्ताले यसको हिसाब खोज्नुपर्छ।
किनकि कांग्रेस कमजोर पार्ने खेल सफल भयो भने त्यसको असर एउटा पार्टीमा मात्र पर्दैन। बहुदलीय लोकतन्त्रको संस्थागत संरचनामाथि नै असर पर्न सक्छ।
यहीबीच नेपाल प्रहरीमाथि लगातार प्रश्न उठाइँदैछ। संस्थालाई सुधार गर्ने नाममा संरचनामाथि प्रहार गर्ने, नेतृत्वलाई विवादमा तान्ने र प्रहरी संगठनभित्र अविश्वासको वातावरण सिर्जना गर्ने प्रयासहरूलाई संयोग मात्र मान्ने कि यसको पछाडि कुनै सुनियोजित उद्देश्य पनि छ भनेर खोज्ने?
यहाँ एउटा सीधा प्रश्न पूर्व प्रहरी नेतृत्व र बहालवाला उच्च कर्मचारीलाई पनि छ- प्रहरी महानिरीक्षकलाई किन निरीह बनाउने काममा लागिरहनुभएको छ? किन उहाँमाथि भइरहेको निरन्तर प्रहारका विषयमा तपाईंहरू बोल्नुहुन्न?
हिजो नेपाल प्रहरीको सेवामा रहँदा यही संगठनबाट शक्ति, पहुँच र सुविधा प्राप्त गर्नेहरू आज कहाँ छन्? प्रहरी संगठनको नेतृत्वमा हुँदा जसले संस्थाको दोहन गरे, आफ्नो गुट र स्वार्थका लागि संगठनलाई प्रयोग गरे, आज तिनै अनुहारहरू किन मौन छन्?
ती काला अनुहारहरू कहाँ हराए?
हिजो पद, पहुँच र प्रभावको वरिपरि घुम्ने, प्रहरी संगठनभित्र आफ्नो मान्छे खोज्ने, गुट र उपगुटको हिसाब मिलाउने, आफूलाई अत्यन्तै व्यावसायिक र निष्पक्ष देखाउने तर व्यवहारमा व्यक्तिगत स्वार्थको गणित गर्ने ती अनुहारहरू आज प्रहरीमाथि प्रहार हुँदा किन देखिँदैनन्?
हिजो प्रहरी नेतृत्वको अगाडि बसेर मुस्कुराउँदै तस्वीर खिचाउनेहरू आज किन मौन छन्? हिजो प्रहरी सेवाबाट आफ्नो राजनीतिक, सामाजिक वा व्यक्तिगत प्रभाव विस्तार गर्नेहरू आज प्रहरी महानिरीक्षकलाई कमजोर बनाउने वातावरण बन्दा किन एक शब्द बोल्दैनन्?
के ती अनुहारहरूलाई प्रहरी बलियो भएको मात्र मन पर्थ्यो, कि आफूअनुकूल प्रहरी नेतृत्व बलियो भएको मात्र?
प्रश्न यही हो।
स्थिति अनुकूल हुँदा प्रहरी महानिरीक्षकको अगाडि बसेर तस्वीर खिचाउनेहरू आज कहाँ छन्? प्रहरी नेतृत्वसँग निकटता देखाएर आफ्नो प्रभाव स्थापित गर्नेहरू अहिले किन मौन छन्? प्रहरी संस्थामाथि प्रश्न उठ्दा एक शब्द बोल्न पनि किन हिचकिचाइरहेका छन्?
अनुकूल मौसममा नेतृत्वसँग तस्वीर खिचाउनु बहादुरी होइन। प्रतिकूल समयमा संस्थाको पक्षमा उभिनु नैतिक साहस हो।
प्रहरी सेवाकालमा जसले संगठनबाट दोहन गरे, जसले गुट र उपगुट बनाए, जसले आफ्ना मान्छेलाई अगाडि बढाए र अरूलाई निमोठे, जसले प्रहरीलाई संस्थाभन्दा व्यक्तिगत प्रभावको क्षेत्र बनाए- आज त्यही संगठनमाथि प्रश्न उठ्दा उनीहरूकै मौनता सबैभन्दा ठूलो प्रश्न बनेको छ।
आफूलाई व्यावसायिकताको ठेकेदार ठान्ने ती अनुहारहरू आज किन बोल्दैनन्? प्रहरी महानिरीक्षकलाई किन निरीह देखाउन खोजिँदैछ? नेतृत्वलाई कमजोर पार्दा अन्ततः कमजोर हुने व्यक्ति महानिरीक्षक मात्र हो कि सम्पूर्ण नेपाल प्रहरी हो?
यो प्रश्नको उत्तर दिनुपर्ने समय आएको छ।
आज कालो कोट लगाएर अदालत पुग्न सकिन्छ। हाइकिङ जान सकिन्छ। बिहान हाटबजारमा तरकारी किन्न सकिन्छ। घरको करेसाबारी गोड्न सकिन्छ। सार्वजनिक जीवनबाट आफूलाई अलग राखेको अभिनय पनि गर्न सकिन्छ। तर विगतबाट भाग्न सकिँदैन।
तपाईंहरू पूर्व प्रहरी महानिरीक्षक हुनुहुन्छ। प्रहरी महानिरीक्षकको कार्यालयको प्रवेशद्वारमा आज पनि तपाईंहरूका तस्वीर झुन्डिएका छन्। ती तस्वीरहरू सम्मानका प्रतीक मात्र होइनन्, इतिहासका साक्षी पनि हुन्।
भोलि इतिहासले सोध्नेछ- जब प्रहरी संस्थामाथि निरन्तर प्रश्न उठिरहेका थिए, त्यतिबेला तपाईंहरू कहाँ हुनुहुन्थ्यो?
जब प्रहरी महानिरीक्षकलाई कमजोर र निरीह बनाउने वातावरण निर्माण हुँदै थियो, तपाईंहरूको आवाज किन सुनिएन?
जब प्रहरीको संस्थागत संरचनामाथि प्रश्न उठिरहेको थियो, तपाईंहरूले किन आफ्नो अनुभव प्रयोग गर्नुभएन?
अझ कठोर प्रश्न- हिजो प्रहरी सेवामा रहँदा संगठनको दोहन गर्नेहरू आज त्यही संगठनको पक्षमा एउटा शब्द बोल्नसमेत किन तयार छैनन्?
किनकि इतिहासमा पद सकिन्छ, तर पदमा हुँदा गरेका काम सकिँदैनन्।
आज कांग्रेसभित्र विभाजनको खेल, भोलि राज्यका संस्थाभित्र हस्तक्षेपको खेल र त्यसपछि लोकतान्त्रिक संरचनामाथि प्रहार- यी सबैलाई छुट्टाछुट्टै घटना मानेर बस्ने हो भने कुनै दिन समग्र चित्र निकै ढिलो देखिनेछ। त्यस दिनसम्म धेरै कुरा भत्किसकेको हुन सक्छ।
त्यसैले कांग्रेसभित्र खेल भइरहेको छ भने कांग्रेसले बुझ्नुपर्छ। प्रहरीमाथि खेल भइरहेको छ भने पूर्व प्रहरी नेतृत्वले बोल्नुपर्छ। प्रहरी महानिरीक्षकलाई निरीह बनाउने प्रयास भइरहेको छ भने मौन बस्ने होइन, प्रश्न गर्ने समय हो।
ती अनुहारहरूले पनि बुझून्- समय बदलिएको छ। हिजोको पहुँच, पद र प्रभावले आजको इतिहास मेटिँदैन।
किनकि संस्था कमजोर पारेर व्यक्ति बलियो हुँदैन। नेतृत्व कमजोर पारेर संगठन बलियो हुँदैन। र मौन बसेर इतिहासबाट उम्किन सकिँदैन।
अनुकूल परिस्थितिमा महानिरीक्षकको अगाडि उभिएर तस्वीर खिचाउने तर प्रतिकूल परिस्थितिमा त्यही संस्थाको पक्षमा एउटा शब्द बोल्न नसक्ने प्रवृत्तिले इतिहासको आरेघाटसम्मको यात्रा सहज बनाउँदैन।
किनकि अन्तिम फैसला पदले होइन, समयले गर्छ।
(लेखक रेग्मी अवकाशप्राप्त प्रहरी उपरीक्षक हुन्। उनी लामो समय नेपाल प्रहरीको राजनीतिक अन्वेषण शाखामा कार्यरत थिए।)
