काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तमा दर्ता रहेको र अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार तामाङलाई पक्राउ गर्न दरबारमार्ग वृत्तले अनुमति मागेको थियो। सोहीबमोजिम काठमाडौं जिल्ला अदालतबाट आइतबार पक्राउ अनुमति लिएपछि उनलाई सोमबार सिंहदरबारबाट पक्राउ गरिएको हो।
पक्राउ परेका तामाङ ४३ वर्षका हुन्। उनी काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए।
प्रहरीले बैंकिङ कसुरसम्बन्धी उक्त मुद्दामा तामाङमाथि थप अनुसन्धान अघि बढाउने जनाएको छ।
