काठमाडौं । गृह सचिव केदारनाथ शर्माले नागरिकका अपेक्षालाई केन्द्रमा राखेर जिम्मेवारी थप सजग, सचेत र इमानदारीपूर्वक पूरा गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।
हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निरीक्षण तथा अवलोकनका क्रममा गृह सचिव शर्माले संगठनको समग्र कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरीको संगठनात्मक सुदृढीकरण, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनका विषयमा समेत छलफल गरेका थिए।
सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै गृह सचिव शर्माले नागरिकको सुरक्षा र सेवाका सवालमा संगठनको जिम्मेवारी महत्वपूर्ण रहेको बताए।
उनले नागरिकका अपेक्षा र गुनासोलाई सम्बोधन गर्दै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। जिम्मेवारी निर्वाह गर्दा थप सजग, सचेत र इमानदार भएर काम गर्न उनले सशस्त्र प्रहरीका अधिकारी तथा जवानलाई निर्देशन दिएका छन्।
साथै, बदलिँदो सुरक्षा चुनौती र विपद्का घटनामा प्रभावकारी उद्धार तथा व्यवस्थापनका लागि संगठन सधैँ तयारी अवस्थामा रहनुपर्नेमा गृह सचिव शर्माले जोड दिएका छन्।
निरीक्षणका क्रममा सशस्त्र प्रहरीको वर्तमान परिचालन अवस्था, उपलब्ध स्रोतसाधन, विपद् व्यवस्थापन क्षमता तथा आगामी कार्ययोजनाबारे समेत जानकारी लिइएको थियो।
