काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटमार्फत नेपालीमा खुसी ल्याउन सकेकामा गर्व लागेको बताएका छन्।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका लामिछानेले टोलीको सफलतामा खेलाडीको मात्र नभई समर्थक, प्रशिक्षक र पर्दापछाडि रहेर काम गर्ने सबैको योगदान रहेको बताए।
शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। योसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान पक्का गरेको छ। यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एसिया कपका लागि छनोट भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलताले नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको सन्देश दिएको बताए।
‘देश दुःखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुसी दिन सकिएको छ,’ लामिछानेले भने, ‘नेपाल दुःखिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो।’
उनका अनुसार खेलाडीहरू देशका लागि जीवनकै अन्तिम खेल खेलेजसरी मैदानमा उत्रिने मानसिकतामा थिए। प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएर खेलेको उनले बताए।
फाइनलमा बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शनको लामिछानेले प्रशंसा गरे। आसिफ शेखको शतकसहित नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले बलिङमा सुरुवाती विकेट निकाल्न सके खेलमा फर्किन सकिने विश्वास रहेको बताए।
यूएईका राहुल चोपडाले राम्रो ब्याटिङ गरेपछि केही समय दबाब सिर्जना भए पनि खेल अन्तिम ओभरसम्म पुग्न सक्ने आकलन टोलीले गरेको लामिछानेको भनाइ थियो।
कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै म्यान अफ द टूर्नामेन्ट बन्न सफल भए पनि लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित ठूलो भएको बताए।
उनले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान उत्तिकै महत्वपूर्ण रहेको बताए।
लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताका ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गरे।
प्रिमियर कपको उपाधिपछि नेपाली टोलीको ध्यान अब आगामी प्रतियोगितातर्फ केन्द्रित हुने उनले बताए। केही दिन आराम गरेपछि एशियन गेम्स र त्यसपछि एसिया कपका लागि तयारी सुरु गरिने लामिछानेले जानकारी दिए।
