काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको विशेष निरीक्षण तथा अवलोकन गरेका छन्।
विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्री गुरुङले आइतबार संगठनसँग उपलब्ध उद्धार सामग्री तथा आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले विपद्का बेला नागरिकको जिउधनको रक्षा गर्न सशस्त्र प्रहरीले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी तयारी, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि तथा जनशक्तिको प्रभावकारी परिचालनबारे जानकारी लिएका थिए।
गृहमन्त्री गुरुङले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन्।
विपद्का बेला उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक तयारी, उपकरण र जनशक्तिको परिचालनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका थिए।
