दमक । झापाको दमकमा कार्यरत घुमुवा प्रहरी भनिएका राजकुमार श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट नियमित रूपमा रकम असुल्ने गरेको पाइएको छ। लागुऔषध प्रयोगकर्ता, मोबाइल व्यवसायीलगायत विभिन्न व्यक्तिहरूबाट मासिक ‘लाइन’ रकम उठाउने गरेको दाबी सार्वजनिक भएपछि दमकको प्रहरी कार्यशैलीमाथि प्रश्न उठेको हो।
आरोपअनुसार श्रेष्ठले आफ्नो प्रभाव प्रयोग गर्दै विभिन्न व्यक्तिहरूसँग नियमित रकम लिने गरेका हुन्। यस्तै, केही सुधार केन्द्रका प्रतिनिधिहरूबाट समेत प्रति व्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म रकम लिने गरेको बताइएको छ। केही दिनअघि मात्रै ११ जनालाई सुधार केन्द्र पठाइएको घटनासँग जोडेर समेत रकम असुलीको दाबी सार्वजनिक भएको छ।
श्रेष्ठमाथि महँगा मोबाइल फोन तथा अन्य विभिन्न सामानहरू घरमा रहेको दाबीसमेत गरिएको छ। ती सामान कहाँबाट आए, खरिदको स्रोत के हो र आरोपित रकम असुलीसँग तिनको कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा समेत छानबिन आवश्यक देखिन्छ।
डीएसपी र एसपीको सरक्षण
दमकमा डीएसपी हरि बस्नेत कार्यरत छन् भने झापा जिल्लाको प्रहरी प्रमुख एसपी बसुन्धारा खड्का छन्। घुमुवा प्रहरीको नाममा रकम असुली भइरहेको आरोप सार्वजनिक भइरहँदा पनि सम्बन्धित प्रहरी नेतृत्वले यसबारे के जानकारी पाएको छ, कुनै उजुरी परेको छ वा छैन र छानबिनका लागि के कदम चालिएको छ भन्ने प्रश्न उठेको छ।
यसैबीच, झापा जिल्लामा तस्करी भइरहेको र त्यसमा प्रहरी नेतृत्वकै संरक्षण रहेको आरोपसमेत लगाइएको छ।
प्रहरीको जिम्मेवारी अपराध नियन्त्रण, अनुसन्धान र नागरिकको सुरक्षा गर्नु हो। तर प्रहरी कर्मचारीले आफ्नो पद वा पहुँचको दुरुपयोग गरी नियमित रकम असुल्ने गरेको आरोप सत्य ठहरिएमा त्यो गम्भीर अनुशासनहीनता मात्र नभई भ्रष्टाचार तथा आपराधिक गतिविधिसँग समेत जोडिन सक्ने विषय हो।
त्यसैले श्रेष्ठमाथि लागेको आरोपबारे सम्पत्ति, फोन तथा अन्य सामानको स्रोत, सुधार केन्द्रसँगको आर्थिक सम्बन्ध, ११ जनालाई सुधार केन्द्र पठाइएको घटनाको पृष्ठभूमि र कथित ‘लाइन’ रकम असुलीबारे छानबिन हुनुपर्ने देखिन्छ।
आरोप सार्वजनिक भएपछि दमकका डीएसपी हरि बस्नेत र झापा एसपी बसुन्धारा खड्काको भूमिकामाथि समेत प्रश्न उठेको छ। अब प्रहरी नेतृत्वले आरोपको खण्डन मात्र गर्ने हो कि निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउने हो भन्ने विषय चासोको बनेको छ।
यस विषयमा श्रेष्ठले आफुले अफिसको निर्देशन विपरीत काम नगरेको दाबी गरे। उनले भने, ‘लागू औषध कारोबारी समातेर ल्याएपछि मुद्दा शाखाले काम गर्छ। कतिपयलाई सुधार केन्द्र पठाइएको छ भने कतिलाई यतिकै छोडिएको छ।’
