विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा बिहीबार गरिएको खानतलासीका क्रममा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, आठ वटा फलामे रड, बेल्चा र फलामका पाइप बरामद भएका छन्। बरामद सामग्रीले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको खानतलासीका क्रममा उक्त सामग्री बरामद भएको हो। मोरङ प्रहरीका अनुसार ‘बी’ ब्लकमा नाइके र चौकीदार समूहले प्रभाव जमाउँदै आएको तथा अन्य कैदीलाई नियन्त्रणमा राख्ने र यातना दिने गरेको गुनासो प्रहरीसमक्ष पुगेको थियो।
पीडित कैदीहरूले चलाखीपूर्वक ३७ जनालाई ब्लकबाट बाहिर निकालेर प्रहरीको जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई ब्लकभित्र प्रवेश गरी विस्तृत खानतलासी गर्न सहज भएको बताइएको छ।
प्रहरीका अनुसार कोठा नम्बर १ मा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्ने स्थानबाट मोबाइल बरामद भएको हो। त्यस्तै, कोठा नम्बर २ मा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्दै आएको स्थानबाट आठ वटा फलामे रड भेटिएका छन्।
एकै स्थानबाट १० लाखभन्दा बढी नगद भेटिनुले रकमको स्रोत, प्रयोग र सम्भावित बाह्य सञ्जालबारे प्रश्न उठाएको छ। मोबाइल, फलामे रड तथा अन्य सामग्री कारागारभित्र कसरी पुगे भन्ने विषय पनि अनुसन्धानको दायरामा आएको छ।
५२९ जना कैदीबन्दी रहेको ब्लकमा यति ठूलो परिमाणमा नगद, मोबाइल र फलामे सामग्री पुग्दा नियमित सुरक्षा जाँच र निगरानी संयन्त्र कहाँ थियो ? भन्ने प्रश्न अहिले मुख्य बनेको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले प्रतिबन्धित सामग्री कसरी र कसले कारागारभित्र पुर्यायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्।
अब अनुसन्धानले बरामद सामग्रीमा मात्र सीमित नभई नगदको स्रोत, मोबाइलबाट भएका सम्पर्क, रडको प्रयोजन तथा सामान भित्र्याउन सहयोग गर्ने सम्भावित व्यक्ति वा समूह पहिचान गर्नुपर्ने चुनौती प्रहरीसामु छ।
