रौतहट । बुधबार पदभार ग्रहण गरेका रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन, पारदर्शी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका सवालमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको सञ्चारकर्मीसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिडिओ पौडेलले नागरिकलाई सहज, छिटो र पारदर्शी ढंगले सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।
निजामती सेवामा प्रवेश गरेदेखि नै सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै उनले रौतहटमा पनि सोही कार्यशैलीलाई निरन्तरता दिने बताए।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवामा अनावश्यक ढिलासुस्ती, बिचौलियाको प्रभाव र सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गरिने उनले स्पष्ट पारे।
‘सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका विषयमा कुनै सम्झौता हुँदैन,’ सिडिओ पौडेलले भने, ‘कानुनको पालना गराउँदै नागरिकलाई प्रभावकारी सेवा दिनु प्रशासनको मुख्य दायित्व हो।’
शान्ति–सुरक्षा र सीमा अपराध नियन्त्रण प्राथमिकतामा
सिडिओ पौडेलले रौतहटमा शान्ति–सुरक्षा कायम गर्नुका साथै अपराध तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई प्रशासनको प्रमुख प्राथमिकतामा राखिएको बताए।
अपराध वा गैरकानुनी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।
चाडपर्वका समयमा हुन सक्ने विभिन्न गतिविधि, सीमा क्षेत्रमा हुने अवैध कारोबार, राजस्व छली तथा जिल्लाको शान्ति–सुरक्षा प्रशासनका प्रमुख चुनौती रहेको उनले बताए।
यस्ता गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्बन्धित सुरक्षा निकायसँग प्रभावकारी समन्वय गरी अघि बढ्ने उनले बताए।
सञ्चारकर्मीका सुझावलाई सकारात्मक रूपमा लिने
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, सीमा क्षेत्रमा हुने गतिविधि तथा नागरिकका समस्याबारे प्रशासनको ध्यानाकर्षण गराएका थिए।
सञ्चारकर्मीका सुझाव तथा गुनासालाई सकारात्मक रूपमा लिँदै सिडिओ पौडेलले प्रशासन र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
जिल्लाका वास्तविक समस्या र नागरिकका गुनासालाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रशासनका कामकारबाहीलाई पारदर्शी बनाउन सञ्चारमाध्यमको रचनात्मक सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलसँगै सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयाँल र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालको समेत उपस्थिति थियो।
