काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्यसँग नजिकिएको सम्बन्धले ४६ वर्षीया कुसुम गुभाजुलाई अन्ततः जेल पुर्याएको छ। सम्बन्धकै क्रममा सुरु भएको विवाद आर्थिक लेनदेन, धम्कीको आरोप हुँदै आपराधिक लाभको मुद्दासम्म पुगेपछि उनी पुर्पक्षका लागि थुनामा गएकी हुन्।
गुभाजु नेपाली सेनाका एक सैनिककी श्रीमती थिइन्। वैवाहिक सम्बन्धमै रहेका बेला अनुसन्धान विभागका एसपी आचार्यसँग उनको नजिकिएको सम्बन्धपछि पारिवारिक विवाद बढेको थियो। पछि उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। गुभाजुको बयानअनुसार आचार्यले नै माया र हेरचाह गर्ने बताएपछि आफूले सम्बन्धविच्छेद गरेकी थिइन्।
सम्बन्धविच्छेदपछि आचार्यले गुभाजुको खातामा दुई पटक गरी २७ लाख रुपैयाँ दिएको खुलेको छ। तर, त्यसपछि थप ५० लाख रुपैयाँ माग गर्दै आफूलाई विभिन्न माध्यमबाट धम्की दिएको आरोप लगाउँदै आचार्यले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए। सोही जाहेरीका आधारमा साउन २७ गते पक्राउ परेकी गुभाजुलाई जिल्ला अदालत काठमाडौंले भदौ २४ गते पुर्पक्षका लागि थुनामा पठाएको हो।
आचार्यले प्रहरीमा दिएको जाहेरीमा उनीहरूबीच प्रेम तथा भेटघाट भएको स्वीकार गरेका छन्। उनीहरूको निजी कुराकानीका स्क्रिनसटलाई प्रयोग गरी आफूबाट आर्थिक लाभ लिन खोजिएको उनको आरोप छ। तर, गुभाजुले भने रकम असुल्न धम्की दिएको आरोप अस्वीकार गरेकी छन्। उनका अनुसार आचार्यले नै फेसबुकबाट सम्पर्क गरी सम्बन्ध अघि बढाएका थिए र सम्बन्ध गाढिँदै गएपछि आफूहरूबीच भेटघाटसमेत भएको थियो।
गुभाजुले सम्बन्धकै कारण श्रीमान्ले घरबाट निकालेपछि आचार्यले कोठा खोजेर राखिदिएको समेत बयानमा बताएकी छन्। पछि आचार्यले बेवास्ता गर्न थालेपछि आफूले रिसको आवेगमा विभिन्न सन्देश पठाएको उनको भनाइ छ। आचार्यले भने केही आरोप अस्वीकार गर्दै धम्की तथा रकम माग गरिएका सन्देशका प्रमाण प्रहरीमा बुझाएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले गुभाजुविरुद्ध आपराधिक लाभको कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तथा विद्युतीय कारोबार ऐनअन्तर्गत पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ। जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
सम्बन्धबाट सुरु भएको विवाद अहिले अदालत पुगेको छ। आचार्य हाल सम्पत्ति जाँचबुझ आयोगमा काजमा छन् भने गुभाजु भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि कारागारमा रहनेछिन्।
