दाङ । पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई ‘नक्कली चालक’ बनाएर मुद्दा चलाइएको आरोपमा सल्यानका तत्कालीन प्रहरी प्रमुखसहित दुई प्रहरी अधिकारी छानबिनमा तानिएका छन्।
तत्कालीन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङमाथि दुर्घटनाको वास्तविक चालकलाई जोगाएर घटना हुँदाका बखत गाडीमै नरहेका व्यक्तिलाई चालक बनाएर कारबाही अघि बढाएको आरोप लागेको हो। आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरी निर्दोष व्यक्तिलाई जेल पठाइएको उजुरी परेपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित चोरखोलामा गत वर्ष असोज १२ गते लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको उक्त दुर्घटनापछि चालक फरार भएका थिए।
तर, दुर्घटनाको वास्तविक चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ का २७ वर्षीय देवबहादुर विकलाई जोगाएर कपुरकोट–३ डाँडागाउँका ३८ वर्षीय कर्णबहादुर खड्कालाई चालकका रूपमा खडा गरिएको आरोप प्रहरी अधिकारीमाथि लागेको हो।
प्रहरीका अनुसार दुर्घटनापछि मृतकका आफन्त भद्रबहादुर केसीले असोज २० गते इलाका प्रहरी कार्यालय लुहाममा चालकविरुद्ध जाहेरी दिएका थिए। त्यसको चार दिनपछि असोज २४ गते चालक पक्राउ परेका थिए। त्यसपछि वास्तविक चालकलाई सहचालकका रूपमा देखाएर दुर्घटनाका बेला गाडी नचलाएका खड्कालाई चालक बनाइएको आरोप छ। खड्कालाई असोज २९ गते पक्राउ गरी मुद्दा चलाइएको थियो। हाल उनी सल्यान कारागारमा छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार घटनामा तत्कालीन डीएसपी केसी, इन्स्पेक्टर गुरुङ, सवारीधनी बसन्त केसी र यातायात व्यवसायी न्युटन श्रेष्ठलगायतको मिलेमतो देखिएको छ। सापकोटाका अनुसार खड्कालाई आर्थिक प्रलोभनमा पारेर नक्कली चालक बन्न लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नक्कली चालक बनेबापत ८ लाख रुपैयाँ दिने सहमति भएको र मासिक ५ हजार रुपैयाँ तलबसमेत दिने सर्त राखिएको देखिएको उनले बताएका छन्। स्रोतका अनुसार खड्काले हालसम्म करिब ४ लाख रुपैयाँ बुझिसकेको खुलेको छ।
प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि विशेष सुरक्षा गण बाँके, नेपालगन्जका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा प्रहरी निरीक्षक बजिरसिंह विष्ट र रेवन्त सेनलगायत छन्।
समितिले कारागारमा रहेका खड्कासँग बयान लिइसकेको छ भने हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी केसीको समेत बयान लिएको छ। तत्कालीन इन्स्पेक्टर गुरुङलाई समेत झिकाएर बयान लिने तयारी भइरहेको छ। समितिलाई १५ दिनको समय दिइएको डीआईजी सापकोटाले बताएका छन्।
घटनापछि खड्कालाई २२ दिनभित्र जेलबाट निकालिदिने आश्वासन दिइएको बताइएको छ। तर जिल्ला अदालत सल्यानका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले २०८२ माघ ७ गते उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेपछि उनी झस्किएका थिए।
श्रीमती गर्भवती रहेको र आर्थिक समस्यामा रहेका खड्का रकम तथा छिट्टै छुट्ने आश्वासनमा नक्कली चालक बन्न तयार भएको स्रोतको दाबी छ। २०८२ मंसिर २२ गते उनकी श्रीमती बिमला केसीले काठमाडौंमा छोरी जन्माएकी थिइन्। खड्का भने करिब ११ महिनादेखि सल्यान कारागारमा छन्।
खड्काले छानबिन समितिसमक्ष आफूले गाडीधनीलाई नचिनेको र दुर्घटनामा आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका छन्। उता डीआईजी सापकोटाका अनुसार यातायात व्यवसायी न्युटन श्रेष्ठको खातामा उक्त समयमा ९ लाख रुपैयाँ पठाइएको देखिएको छ।
घटनाको सेटिङ मिलाउन श्रेष्ठको मुख्य भूमिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सापकोटाको भनाइ छ। प्रहरीले अहिले आर्थिक कारोबार, प्रहरी अधिकारीको भूमिका र दुर्घटनाको वास्तविक चालकबारे थप प्रमाण संकलन गरिरहेको छ।
