काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत काठमाडौंले तामाङलाई ५० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार तामाङसहित दोषी ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको हो। यसअघि भदौ ११ गते अदालतले तामाङसहित १६ जनालाई ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो।
त्यस्तै केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार जरिवाना सुनाएको छ।
अदालतले तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङलाई कसुरदार ठहर गरेको थियो।
सजाय निर्धारणअनुसार दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, नगेन्द्र बिमली, मुकुन्दप्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना भएको छ।
त्यस्तै रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर, सिर्जना शाक्य र लालकाजी गुरुङलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ। केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ तथा मिना गुरुङलाई ५ महिना कैद र ४ हजार रुपैयाँ जरिबाना हुने फैसला भएको छ।
