वीरगञ्ज । पर्सामा तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुख एसपी पवन भट्टराईले कडाइ गरिरहेका बेला प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक (सई) मानबहादुर खड्कामाथि भने आफ्नै ढंगले ‘घुमुवा’ परिचालन गरी रकम उठाउने गरेको आरोप छ।
स्रोतका अनुसार सई खड्काको आडमा प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवलाई परवानीपुर क्षेत्रका सवारीसाधन, कलकारखाना, ट्रान्सपोर्ट व्यवसायी तथा तस्करीसँग जोडिएका कारोबारीबाट रकम उठाउन परिचालन गरिएको हो।
यादवले चेकजाँचका नाममा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम असुल्ने गरेको आरोप छ।
त्यसैगरी हवल्दार यावदले सीमावर्ती नाकाबाट भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म लैजाने व्यापारीसँग मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठाउने गरेका छन्। कपडा, चिनी, चकलेट–बटरका कारोबारीदेखि गोदाम सञ्चालकसम्मबाट पनि नियमित रकम उठाउने गरेको बताइन्छ।
यादवमाथि यसअघि पनि घुमुवाका रूपमा कार्यरत रहँदा आर्थिक लेनदेनसम्बन्धी आरोप लागेको बताइन्छ। अहिले उनीमाथि अकुत सम्पत्ति जोडेको सम्मका आरोप उठेको छ। तर, यादवलाई परिचालन गर्ने भनिएका सई खड्काको भूमिकामाथि समेत छानबिन हुनुपर्ने आवाज उठेको छ।
आफ्नै प्रहरी कर्मचारी गल्तीमा संलग्न भेटिए कारबाही गर्न पछि नपर्ने छवि बनाएका एसपी भट्टराईका लागि अब सई खड्का र उनको मातहत परिचालित भनिएका घुमुवा यादवमाथिको आरोप अर्को परीक्षा बनेको छ।
एसपीले यस विषयमा एक्सन लिन्छन् कि आरोपमा मात्रै सीमित हुन्छन्, त्यो भने हेर्न बाँकी छ।
यो पनि पढ्नुोस्…
परवानीपुर चौकीका सई खड्काका घुमुवा सोपेन्द्र यादवको आर्थिक आतंक !
