वीरगन्ज । प्रहरी चौकी परवानीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवमाथि सवारीसाधन, कलकारखाना तथा तस्करीका सामान ओसारपसार गर्नेहरूसँग रकम असुली गरेको आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार परवानीपुर चोक क्षेत्रमा विभिन्न किसिमको चेकजाँचको बहानामा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम लिने गरेको पाइएको हो।
पर्सा र बाराका विभिन्न सीमावर्ती नाकाबाट अवैध रूपमा भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने गरेको र बाटोमा त्यस्ता सामान नियन्त्रणमा लिएर रकम लिएपछि छाड्ने गरिएको छ।
परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मानबहादुर अधिकारीले कलकारखाना, सवारीसाधन तथा तस्करीसँग सम्बन्धित गतिविधिबाट रकम उठाउन यादवलाई परिचालन गरेको बताइन्छ।
स्रोतका अनुसार पर्साका छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैठवा, भिस्वा, जनकिटोला तथा बाराका मुशहरवा, बलिरामपुरलगायत नाकाबाट सामान भित्र्याएर जितपुरसम्म पुर्याउने केही व्यापारीसँग मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठाउने आरोप छ।
स्थानीय व्यवसायीहरूले ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट–बटर तथा चिनी कारोबारी र गोदाम सञ्चालकसमेतबाट नियमित रकम उठाउने गरिएको आरोप समेत लगाएका छन्।
एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मासिक रकम नदिए ढुवानीमा समस्या हुन्छ। सामान चेकजाँचका नाममा अनावश्यक हैरानी दिने गरिन्छ।’
व्यवसायीहरूका अनुसार रकम नदिनेहरूलाई सवारी चेकिङ, सामान रोक्ने तथा अन्य प्रशासनिक दबाब दिने समेत गरिएको पाइएको छ। यसबाट व्यवसाय सञ्चालनको लागतसमेत बढेको उनीहरूको गुनासो छ।
यादव यसअघि प्रहरी चौकी छपकैयामा घुमुवाका रूपमा कार्यरत रहँदा पनि आर्थिक लेनदेनसम्बन्धी आरोप लागेको र त्यसपछि जिल्ला तानिएका थिए। लामो समयदेखि पर्सामा कार्यरत यादव पुनः विभिन्न स्थानमा घुमुवाका रूपमा परिचालित हुँदै आएको आरोपसमेत लागेको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवसँग सम्पर्क गर्दा उनले आफू घुमुवा प्रहरी नभएको बताए। उनले आफूलाई प्रहरी नायब निरीक्षकले तोकेको स्थानमा ड्युटी गर्ने गरेको स्पष्ट पारे।
