काठमाडौं । देशका लागि पदक जित्ने लक्ष्य बोकेर दिनरात पसिना बगाइरहेका खेलाडीलाई स्वच्छ, सुरक्षित र पोषणयुक्त खाना उपलब्ध गराउनुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमै खेलाडीको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको पाइएको छ।
राखेप परिसरमा पशुराम ओलीले संचालनक गरेको चमेना गृहमा खेलाडीले खाने खानाको थालमै मरेको साङ्ला भेटिएको घटना सार्वजनिक भएको छ। घटना दुई हप्ताअघिको हो।
२०औँ एसियन गेम्समा सहभागिता जनाउने खेलाडीहरू नियमित रूपमा खाना तथा खाजा खाने क्रममा डाइटको थालमा साङ्ला भेटिएपछि चमेना गृहको सरसफाइ र खाद्य स्वच्छतामाथि गम्भीर प्रश्न उठेको हो। घटनाको तस्बिरसमेत सार्वजनिक भएको छ।
खाना खानका लागि राखेपको चमेना गृहमा पुगेका खेलाडीको थालमा नै साङ्ला भेटिनुले भान्साको सरसफाइ, खाद्य सामग्रीको भण्डारण र खाना पकाउने तथा पस्कने प्रक्रियामाथि प्रश्न खडा गरेको छ।
खेलाडीहरूका अनुसार यो पहिलो घटना भने होइन। चमेना गृहमा अस्वस्थकर तथा गुणस्तरहीन खाना पस्किएको भन्दै यसअघि पनि सम्बन्धित पक्षलाई जानकारी गराइएको थियो।
तर, गुनासो गरे पनि प्रभावकारी अनुगमन र सुधारको पहल नभएको उनीहरूको आरोप छ।
‘देशका लागि खेल्ने खेलाडीलाई यही खाना ?’
खेलाडीहरू देशको नाम उच्च राख्ने उद्देश्यले दैनिक घण्टौँ प्रशिक्षण गर्छन्। खेलाडीको प्रदर्शनका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका हुन्छ। तर, खेलाडीले खाना खाने स्थानमै किरा तथा साङ्ला भेटिनुले आफूहरूलाई गम्भीर चिन्तित बनाएको उनीहरूको भनाइ छ।
एक खेलाडीले भने, ‘हामी देशका लागि पदक ल्याउन दिनरात मेहनत गर्छौँ। तर हामीले खाना खाने ठाउँमै यस्तो अस्वस्थकर खाना दिइन्छ भने हाम्रो स्वास्थ्यको जिम्मेवारी कसले लिने ?’
खेलाडीहरूले चमेना गृहको तत्काल अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न र दोषी देखिए कारबाही गर्न माग गरेका छन्।
राजनीतिक पहुँचका कारण कारबाही नभएको आरोप
चमेना गृहको व्यवस्थापन तथा सञ्चालनमा राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग भइरहेको आरोपसमेत लागेको छ।
स्रोतका अनुसार चमेना गृहका सञ्चालक खेलकुद मन्त्रालयसँग निकट सम्बन्ध भएका व्यक्ति रहेको र राजनीतिक पहुँचका आधारमा नियमविपरीत गतिविधि भए पनि सम्बन्धित निकायले आँखा चिम्लिएको आरोप छ।
संचालक ओलीले आफू मन्त्रीको सल्लाहकार भन्दै चमेना गृहमा आउने खेलाडीहरुलाई भन्ने गरेको समेत पाइएको छ। जबकी उनी मन्त्रीको सल्लाहकारको कुनै भूमिकामा नरहेको मन्त्रीकै सचिवलायले जनाएको छ।
मन्त्रीको सल्लाहकार भन्दै हिँड्ने गरेपछि ओलीमाथि कसैले पनि अनुसन्धान अगाडि बढाउन नसकेको हुने चर्चा छ।
गृहमन्त्रीको थालमा माछाको काँडा पर्दा ३ लाख जरिवाना
खानामा अखाद्य वस्तु भेटिएको विषयमा केही समयअघि चितवनमा भएको घटनाले पनि अहिलेको घटनालाई थप गम्भीर बनाएको छ।
गत असारमा गृहमन्त्री सुधन गुरुङले चितवनको भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको घटना सार्वजनिक भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा अनुगमन गरेको थियो।
अनुगमनपछि होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत ३ लाख रुपैयाँ जरिवाना गरिएको थियो। साथै, बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासनले जनाएको थियो।
उक्त घटनामा प्रशासनले अखाद्य वस्तु भेटिनेलगायतका कैफियतलाई आधार बनाएर कारबाही गरेको थियो।
अब प्रश्न उठेको छ- सर्वसाधारण वा खेलाडीको खानामा साङ्ला भेटिँदा राज्यका सम्बन्धित निकायको मापदण्ड के हो ?
गृहमन्त्रीको खानामा अखाद्य वस्तु भेटिँदा तत्काल अनुगमन र कारबाही हुन सक्छ भने देशका लागि खेल्ने खेलाडीको थालमा साङ्ला भेटिँदा सम्बन्धित निकाय किन मौन ?
राखेपको अनुगमन र कारबाही कहाँ ?
राष्ट्रिय खेलकुद परिषद् खेलाडीको अभिभावक संस्था हो। परिषद् परिसरमै सञ्चालित चमेना गृहमा यस्तो घटना हुनु सामान्य विषय होइन।
राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक वेबसाइटमा पनि परिषद्को मुख्य उद्देश्य खेलकुद क्षेत्रको विकास र सुधारसँग सम्बन्धित रहेको उल्लेख छ।
त्यसैले चमेना गृहको खाद्य गुणस्तर, सरसफाइ र स्वास्थ्य सुरक्षाका विषयमा नियमित अनुगमन भएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठेको छ।
यदि खेलाडीहरूले यसअघि नै पटक–पटक गुनासो गरेका थिए भने ती गुनासामाथि के कारबाही भयो ? चमेना गृहको अनुगमन कसले गर्छ ? खाद्य स्वच्छताको मापदण्ड पूरा नगरे सञ्चालकमाथि कारबाही गर्ने व्यवस्था के छ ? र अहिले साङ्ला भेटिएको घटनापछि राखेपले के कदम चाल्दैछ ?
यी प्रश्नको जवाफ राखेप नेतृत्वले दिनुपर्ने देखिन्छ।
खानामा साङ्ला भेटिएको विषयमा राष्ट्रिय खेलकुद परिषद्का सूचना अधिकारी खुशराज दाहालले भने आफूलाई यसबारे कुनै जानकारी प्राप्त नभएको बताए।
दाहालले ‘यो विषय जानकारीमा आइसकेको अवस्था छैन। हामीलाई जानकारीमा आएको विषय होइन’ भन्दै घटनाबारे आफूलाई औपचारिक जानकारी नभएको बताए।
