काठमाडौं। नेपालमा आयुर्वेदिक उपचार तथा स्वास्थ्य सेवामा सक्रिय पूर्णायु आयुर्वेद हस्पिटलले बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय समारोहमा प्रतिष्ठित ‘ग्लोबल एक्सिलेन्स हेल्थकेयर एन्ड आयुर्वेदिक लिडरसिप अवार्ड २०२६’ प्राप्त गरेको छ।
बंगलादेशको राजधानी ढाकामा आयोजित ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ कार्यक्रममा पूर्णायु आयुर्वेद हस्पिटललाई आयुर्वेदिक चिकित्सा, गुणस्तरीय सेवा र स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
पूर्णायु आयुर्वेद हस्पिटलका प्रबन्ध निर्देशक पर्शुराम चौहान (प्रल्हाद) ले नेपाली आयुर्वेदिक उपचार प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासको परिणामस्वरूप यो सम्मान प्राप्त भएको बताए।
उनले आयुर्वेदिक उपचार पद्धतिमार्फत हजारौं सेवाग्राहीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको र आगामी दिनमा सेवा विस्तारलाई थप सशक्त बनाइने जानकारी दिए।
चौहानका अनुसार पूर्णायु आयुर्वेद हस्पिटलले परम्परागत आयुर्वेदिक ज्ञानलाई आधुनिक स्वास्थ्य व्यवस्थासँग समन्वय गर्दै उपचार, परामर्श तथा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा विशेष काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो सम्मानले नेपाली आयुर्वेदिक चिकित्सा क्षेत्रको प्रतिष्ठा बढाएको उनको भनाइ छ।
यसैगरी, नेपालकै अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले पनि सोही कार्यक्रममा ‘ग्लोबल एक्सिलेन्स बेस्ट डेन्टल अवार्ड’ प्राप्त गरेको छ।
चिरायु डेन्टकेयरका प्रबन्ध निर्देशक सागर जोशीले आधुनिक प्रविधिमा आधारित दन्त उपचार सेवा, निःशुल्क स्वास्थ्य शिविर तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक अभियानमार्फत पुर्याएको योगदानका कारण सम्मान प्राप्त भएको बताए।
पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानलाई नेपाली स्वास्थ्य क्षेत्रको उपलब्धिका रूपमा हेरिएको छ।
