काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलका छोरा विनय रावलविरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तथा वित्तीय विवरण प्रयोग गरेर बैंकबाट कर्जा लिएको आरोपसहित नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ।
राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाइमा परेको उजुरीमा विनय रावल आबद्ध कम्पनी ‘एक्सप्लोराकोडो’ले बैंकबाट व्यावसायिक कर्जा प्राप्त गर्ने क्रममा वास्तविक कारोबारभन्दा ठूलो देखाउन फर्जी कागजात प्रयोग गरेको दाबी गरिएको छ।
उजुरीकर्ताले कम्पनीले बैंकमा पेश गरेका केही भ्याट बिल तथा वित्तीय विवरणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै ती कागजातको सत्यता छानबिन गर्न माग गरेका छन्। उजुरीमा आन्तरिक राजस्व कार्यालयबाट प्रमाणित नभएका वा शंकास्पद भ्याट बिलका आधारमा कम्पनीको कारोबार आकार बढाइचढाइ प्रस्तुत गरिएको आरोप लगाइएको छ।
उक्त कागजातका आधारमा बैंकबाट करोडौं रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको दाबी गर्दै उजुरीकर्ताले घटनामाथि बैंकिङ कसुर तथा वित्तीय अनियमितताको कोणबाट अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशन तथा बैंकिङ प्रणालीअनुसार कुनै पनि व्यावसायिक कर्जा स्वीकृत गर्दा ऋणीको वास्तविक कारोबार, वित्तीय अवस्था, करसम्बन्धी विवरण तथा कर्जा भुक्तानी क्षमताको मूल्यांकन गरिन्छ। उजुरीमा भने यिनै आधारभूत सूचनामा गलत विवरण प्रस्तुत गरिएको आरोप लगाइएको छ।
‘चेञ्ज फर नेपाल’ नामक इमेल ठेगानाबाट पठाइएको उक्त उजुरीको बोधार्थ राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग र गभर्नरको कार्यालयमा समेत दिइएको देखिएको छ। यद्यपि राष्ट्र बैंकले पनि उजुरीमाथि कुनै आधिकारिक निर्णय वा निष्कर्ष सार्वजनिक गरेको छैन।
