बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कार्यशैली र भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी अजित कुमारसँग एसपी कुँवरकै मोबाइलमा सीधा फोन सम्पर्क हुने गरेको तर प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको पाइएको छ।
गम्भीर मुद्दाका फरार प्रतिवादी खुला रूपमा घुमिरहेको भन्दै जाहेरवालाले (पीडित पक्ष) ले उनको लोकेसन र सूचना प्रहरीलाई उपलब्ध गराउँदा समेत प्रहरी प्रमुखले पक्राउ गर्न चासो नदेखाएको पीडित देबेन्द्र दास तत्वाको आरोप छ।
उल्टै, फरार प्रतिवादीको बारेमा सूचना दिने र न्याय माग्ने जाहेरवालालाई नै एसपी कुँवरले तपाईंमाथि अनुसन्धान भइरहेको छ बढि कुरा नगर्नु भन्दै धम्की दिइएको विषय बाहिर आएपछि स्थानीय स्तरमा प्रहरी प्रशासनको निष्पक्षतामाथि तीव्र आक्रोश पैदा भएको छ।
पक्राउ पुर्जी हुँदा पनि किन समातिएनन् अजित?
प्राप्त जानकारी अनुसार ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रतिवादी अजितविरुद्ध ठगि कसूरको मुद्दामा कानुनी प्रक्रिया पूरा गरी अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। कानुन बमोजिम उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउनु पर्ने दायित्व प्रहरीको हो।
तर, पीडित पक्षले फरार अभियुक्त कहाँ छ ? के गर्दैछ भन्ने तथ्यगत प्रमाणसहित एसपी कुँवरलाई जानकारी गराउँदा समेत ‘पक्राउ गर्छौ’ भन्दै आलटाल गरियो। अभियुक्त स्वयंले एसपीको मोबाइलमा सिधै फोन गरेर संवाद गर्ने वातावरण मिल्नु र प्रहरीले फेला नपारेको बहाना बनाउनुले प्रहरी र अपराधी बीचको ‘नेक्सस’ (मिलेमतो) रहेको आशंकालाई बल पुर्याएको छ।
न्याय माग्ने जाहेरवालालाई नै उल्टै धम्की
यस घटनाको सबैभन्दा विडम्बनापूर्ण पक्ष त के छ भने- अपराधी समात्न सघाउने जाहेरवालालाई सुरक्षा दिनुको साटो प्रहरी नेतृत्वबाटै धम्क्याउने काम भएको छ। ‘यस विषयमा धेरै कराउने र समाचार बनाउने कोसिस गरे राम्रो नहुने’ भन्दै प्रहरी प्रशासनकै उच्च तहबाट पीडितलाई दबाब दिइएको बुझिएको छ। न्यायको आशमा प्रहरीकहाँ पुगेका जाहेरवाला अहिले उल्टै प्रहरीकै व्यवहारबाट असुरक्षित महसुस गर्न थालेका छन्।
मधेश प्रहरीभित्र बढ्दो विवाद र प्रश्नचिह्न
केही समयअघि मात्रै मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट बारा सरुवा भएका एसपी कुँवर यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका छन्। मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरी अधिकारीहरूमाथि आर्थिक लेनदेन र कमाण्ड कमजोरीका आरोप लाग्दै गर्दा बारामा घटेको यो घटनाले नेपाल प्रहरीको ‘सत्य सेवा सुरक्षणम्’ को नारालाई नै गिज्याइरहेको छ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम प्रहरी निरीक्षक किसुनदेव साहले फरार प्रतिवादीले आफैले चलाउने गरेको बा५५४८ नम्बरको गाडीमा बसेर घुम्न गरेको समेत पाइएको छ।
अदालतको आदेश र पक्राउ पुर्जीलाई समेत लत्याउँदै फरार अभियुक्तलाई संरक्षण दिने र पीडितलाई धम्क्याउने बाराका प्रहरी प्रमुखमाथि प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउनु पर्ने माग स्थानीय नागरिक समाजले गरेको छ।