काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई सहज रूपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
आइतबार बिहान सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले ओमानमाथि ८ विकेटको प्रभावशाली जित दर्ता गर्यो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे। कुशल भुर्तेलले २० रन जोड्दा आसिफ शेख १ रन बनाएर आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए।
ओमानलाई सानो योगफलमा रोक्न नेपालका करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट झारे। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट हात पारे।
अब नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आइतबार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।
नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोलीले एसियन गेम्सका लागि छनोट सुनिश्चित गरिसकेका छन्।
