काठमाडौँ । शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार धनुषाबाट पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका-९ रातोपुल बस्ने पाण्डे राम जानकी हेल्थ फाउन्डेसनको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले महोत्तरीको बर्दिबास नगरपालिका-६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्राइभेट लिमिटेड’ नामक शेल कम्पनी खडा गरेका थिए ।
सोही कम्पनीको एकल सञ्चालक समेत रहेका पाण्डेले विना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी बैंकबाट कर्जा लिएको सीआईबीले जनाएको छ ।
प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सो कार्यमा नलगाई अन्यत्रै प्रयोग गरी पटक-पटक कर्जाको दुरुपयोग गरेको र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर गरेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत पाटन, ललितपुरबाट मिति २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर फरार रहेका पाण्डेलाई सीआईबीको टोलीले बुधवार धनुषाको छिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाण्डेमाथि बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।
