काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख छन् नायब महानिरीक्षक (डिआईजी) गोविन्द थपलिया। तस्करसँग साँठगाँठ रहेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका थपलियामाथि छानबिन समिति गठन भएपनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन ।
तर, उनै थपलियाको ठाडो निर्देशनपछि अहिले पनि धनुषा, सर्लाही, रौतहट, बारालगायतका जिल्लाहरुबाट व्यापक तस्करी मौलाएको छ । डिआईजी थपलियाको प्रत्यक्ष निर्देशनमा उनका घुमुवाको काम गरेका इन्स्पेक्टर खेम नेपालले तस्करीको लाइन मिलाउने गरेको बताइन्छ।
यसअघिका घुमुवाको रुपमा कार्यरत सई गोपाल थापामगर र जयलाल यादव विवादमा परेर प्रहरी प्रधान कार्यालयले तानेपछि इन्स्पेक्टर नेपालले मधेसभर सबै उठ्तीपुठ्ती धन्दाको र्याकेट चलाउने गरेका छन् । डिआईजी थपलियाको विश्वासपात्र प्रहरी अधिकृतका हैसियतमा उनले केही प्रहरीलाई असुलीमा पठाउने गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय गएदेखि नै उनले तस्करहरूसँग बाक्लो हिमचिम बढाएको एक प्रहरीले बताए । विगतमा रसुवा हुँदा सुन काण्ड लागेर निलम्बनमा परेका इन्स्पेक्टर नेपालको चुरीफुरी मधेसमा हेर्न लायक भएको बताइएको छ ।
उनी प्रहरी चौकी टिमुरेमा कार्यरत रहँदा नेपालले कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा गत पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेपछि निलम्बनमा परेका थिए ।
यसरी इन्सपेक्टर नेपाल विभिन्न काण्डमा मुछिए पनि अहिले तस्करीको लागि उनलाई त्यहीँ राख्नु डिआईजी थपलियाको संरक्षणको प्रत्यक्ष प्रमाणको रूपमा हेरिएको छ । प्रहरी स्रोतका अनुसार, उनले उच्च अधिकारीहरूलाई आर्थिक प्रभावमा पारेर पटक–पटक कारबाहीबाट उम्किँदै आएका छन् ।
इन्स्पेक्टर नेपालले प्रहरीको नाम र बर्दी दुरुपयोग गरी व्यापारिहरूसँग सिधा सेटिङ गरेर तस्करी मात्र हैन, आतंक नै सिर्जना गरिरहेका छन् । इन्स्पेक्टरलाई मात्र होइन, संरक्षण दिने ठूला हाकिमहरूलाई समेत जवाफदेही बनाउनु जरुरी छ ।
इन्स्पेक्टर नेपालको आतंक हुँदा डिआईजी थपलिया बेवास्ता गर्दै संरक्षण दिइरहेका छन् । यसले बुझ्न सकिन्छ, कि नेपाल डिआईजीकै निर्देशनमा काम गरिरहेका छन् ।
अझ मधेस प्रदेश प्रहरी कार्यालयले कडाइ गरेको नाटक गरी बेला बेला विज्ञप्ति समेत सार्वजनिक गर्ने गरेको छ । तर, मधेसमा इन्स्पेक्टर नेपाललाई तस्करीको पैसा उठाउन भ्याइनभ्याइ छ ।
डिआईजी थपलियाले प्रशासन शाखाको जिम्मेवारी हेर्नेगरी इन्स्पेक्टर नेपाललाई परिचालन गरेको बताइन्छ । जसले गर्दा इन्स्पेक्टर नेपालको टोलीले प्रदेशभर पैसा उठाउने काम गरेको छ ।
इन्स्पेक्टर नेपाल त्यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहँदासमेत विवादमा तानिएका थिए । बारामा पनि पैसा असुल्न भ्याइनभ्याइ थियो उनलाई । अहिले उस्तै जिम्मेवारी पाएपछि मधेस प्रदेश प्रहरी कार्यालयमा नेपालको चुरीफुरी बेग्लै छ ।