काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित बालबालिकाका फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक हुन थालेपछि नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विपद्मा परेका बालबालिकाको फोटो, भिडियो वा पहिचान खुल्ने विवरण सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भन्दै संवेदनशीलता अपनाउन आग्रह गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्बाट प्रभावित बालबालिकाको मानसिक अवस्थामाथि थप चोट नपुग्ने गरी फोटो, भिडियो तथा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ।
प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण तथा अनुहारबाट पहिचान हुने कुनै पनि सूचना सार्वजनिक नगर्न भनेको छ। त्यस्ता सामग्री सार्वजनिक गर्नैपर्ने अवस्था भए बालबालिकाको पहिचान नखुल्ने व्यवस्था मिलाउन पनि प्रहरीले सरोकारवालालाई सचेत गराएको छ।
विशेषगरी बालबालिकालाई असहाय, रोइरहेको वा पीडामा रहेको अवस्थामा देखाएर सामग्री भाइरल बनाउने, सहानुभूति बटुल्ने वा आर्थिक सहयोग जुटाउने नाममा उनीहरूको आत्मसम्मानमा चोट पुर्याउने काम नगर्न प्रहरीले आग्रह गरेको छ।
त्यस्तै, मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने वा उनीहरूलाई भोगेको घटना सम्झन बाध्य पार्ने गतिविधिबाट समेत जोगिन प्रहरीले भनेको छ। यस्ता गतिविधिले बालबालिकाको मानसिक पीडा पुनः बल्झिन सक्ने भन्दै प्रहरी संवेदनशील व्यवहार गर्न आग्रह गरेको हो।
बालबालिकाको पहिचान खुल्ने तस्बिर वा डिजिटल सामग्रीलाई आवश्यक अनुमति र संवेदनशीलताबिना प्रसारण, सम्पादन वा मिम बनाएर प्रयोग नगर्न पनि प्रहरीले चेतावनी दिएको छ।
विपद्का बेला फोटो तथा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रहरीले जोड दिएको छ।
सामाजिक सञ्जालमा प्राप्त संवेदनशील सामग्रीको सत्यता र सन्दर्भ नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्न सर्वसाधारणलाई समेत प्रहरीले आग्रह गरेको छ। बालबालिकाको हितविपरीतका सामग्री थप प्रसार नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न प्रहरीको अनुरोध छ।
प्रचलित कानुन, पत्रकार आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिका, २०७३ को पूर्ण पालना गर्न आग्रह गर्दै नेपाल प्रहरीले विपद्का बेला बालबालिकाको सुरक्षा, सम्मान र गोपनीयता संरक्षणमा आफू प्रतिबद्ध रहेको जनाएको छ।
