वीरगञ्ज । गत फागुनमा निर्वाचनका बेला उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मधेश प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल अहिले क्यासिनो प्रकरणमा पक्राउ परेपछि चर्चामा आएका छन्।
वीरगञ्जमा सञ्चालित विभिन्न क्यासिनोमा प्रहरीले शनिबार राति गरेको छापा कारबाहीका क्रममा पौडेलसहित ८ जना पक्राउ परेका हुन्। पौडेल वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रा.लि.मा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, चन्दन साहनी र प्रकाश बैठा पनि रहेका छन्। उनीहरू क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जनाइएको छ।
पौडेल भने केही महिनाअघि मात्रै निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मधेश प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका थिए। प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएका उनै पौडेल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेपछि उनको भूमिकालाई लिएर प्रश्न उठेको छ।
यस्तै, क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने कार्यमा संलग्न रहेको आरोपमा चार जना कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेसी साह रहेका छन्।
प्रहरीले वीरगञ्जमा सञ्चालित क्यासिनोहरूमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ। सोही क्रममा शनिबार राति गरिएको कारबाहीमा पौडेलसहित ८ जना पक्राउ परेका हुन्।
फागुनमा ‘उत्कृष्ट प्रहरी’को सम्मान पाएका पौडेल केही महिनामै क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेपछि यो घटनाले प्रहरी अधिकारीको आचरण र जिम्मेवारीमाथि समेत प्रश्न खडा गरेको छ।
