काठमाडौं । सुडान र दक्षिण सुडानबीचको विवादित तथा संवेदनशील क्षेत्र अबेईमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरका रूपमा कार्यरत नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठको सैनिक सेवाको पदावधि सरकारले एक वर्ष थप गरेको छ।
संयुक्त राष्ट्रसंघको आग्रह र प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसपछि सरकारले श्रेष्ठलाई राष्ट्रसंघीय जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले रथी श्रेष्ठको पदावधि थप गर्ने निर्णय गरेको हो। यससँगै उनको नियमित सैनिक सेवाबाट अवकाश हुने समय एक वर्ष पछाडि सरेको छ।
श्रेष्ठको नियमित सेवाको पदावधि आगामी मंसिर ८ गते सकिँदै थियो। तर, अबेईमा उनले सम्हालिरहेको फोर्स कमाण्डरको जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले सेवाको निरन्तरता आवश्यक ठानिएको हो।
किन माग्यो राष्ट्रसंघले निरन्तरता ?
अबेईमा खटिएको राष्ट्रसंघीय शान्ति फौजको नेतृत्व सम्हालिरहेका श्रेष्ठको कार्यकाल पूरा नहुँदै नेतृत्व परिवर्तन गर्दा मिसनको सञ्चालन र सुरक्षा व्यवस्थापनमा असर पर्न सक्ने आकलन राष्ट्रसंघको छ।
फोर्स कमाण्डरको सामान्य कार्यकाल दुई वर्षको हुने भए पनि श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्ष पनि पूरा भएको छैन। त्यसैले बीचमै नेतृत्व परिवर्तन नगर्न राष्ट्रसंघले नेपाल सरकारसँग आग्रह गरेको स्रोतको भनाइ छ।
राष्ट्रसंघको आग्रह, प्रधानसेनापतिको सिफारिस र मिसनको आवश्यकता मूल्यांकनपछि सरकारले श्रेष्ठको सेवाको पदावधि थप गरेको हो।
अबेई किन यति संवेदनशील ?
अबेई सुडान र दक्षिण सुडानबीच लामो समयदेखि विवादमा रहेको भूभाग हो। राजनीतिक रूपमा यसको स्थायी समाधान हुन नसक्दा क्षेत्र अझै संवेदनशील अवस्थामा छ।
जातीय तथा सामुदायिक तनाव, सशस्त्र समूहको गतिविधि र सर्वसाधारणको सुरक्षासँग जोडिएका चुनौतीका कारण अबेईमा राष्ट्रसंघले विशेष सुरक्षा संयन्त्र परिचालन गर्दै आएको छ।
United Nations Interim Security Force for Abyei (UNISFA) अन्तर्गत परिचालित शान्ति सैनिकको समग्र कमान्ड नेपाली सेनाका रथी श्रेष्ठले गर्दै आएका छन्।
विभिन्न देशका सैनिक सम्मिलित अन्तर्राष्ट्रिय फौजको नेतृत्व गर्नु नेपाली सेनाका लागि सामान्य जिम्मेवारीभन्दा माथिको अन्तर्राष्ट्रिय विश्वास र नेतृत्व क्षमताको परीक्षणसमेत मानिन्छ।
श्रेष्ठ आठौँ नेपाली फोर्स कमाण्डर
रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघीय शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाउने नेपाली सेनाका आठौँ उच्च सैनिक अधिकारी हुनुहुन्छ।
यसअघि कृष्णनारायण सिंह थापा, भिक्ट्री शमशेर जबरा, बालानन्द शर्मा, पवनजंग थापा, पूर्णचन्द्र थापा, ईश्वर हमाल र निर्मलकुमार थापाले विभिन्न राष्ट्रसंघीय शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हालिसकेका छन्।
विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा लामो समयदेखि शान्ति स्थापनाका लागि नेपाली सेना परिचालित हुँदै आएको छ। अनुशासन, व्यावसायिकता र प्रभावकारी कमान्डका कारण नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा छुट्टै विश्वसनीयता बनाएको छ।
त्यही पृष्ठभूमिमा द्वन्द्व र अस्थिरताले प्रभावित अबेईजस्तो जटिल क्षेत्रमा नेपाली रथीले बहुराष्ट्रिय शान्ति फौजको नेतृत्व गर्नु नेपालको शान्ति सैनिक योगदानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अघिल्लो अनुभवबाट पनि सिकाइ
यसअघि राष्ट्रसंघीय फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका नेपाली सेनाका तत्कालीन रथी पूर्णचन्द्र थापाले नेतृत्वको नियमित निरन्तरतासँग जोडिएको परिस्थितिका कारण करिब एक वर्षमै मिसनबाट स्वदेश फर्किएका थिए।
फोर्स कमाण्डरको कार्यकाल पूरा हुनुअघि नेतृत्व परिवर्तन हुँदा मिसनको सञ्चालनमा असहजता उत्पन्न हुनसक्ने अनुभवसमेत यसपटकको निर्णयमा जोडिएको स्रोतको दाबी छ।
रथी श्रेष्ठको पदावधि थपसँगै अबेई मिसनमा नेपाली नेतृत्वले निरन्तरता पाउने भएको छ। यसले एकातर्फ संवेदनशील क्षेत्रमा राष्ट्रसंघीय सुरक्षा मिसनको कमान्डमा स्थायित्व दिनेछ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाप्रतिको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
