विराटनगर । विराटनगरको महेन्द्र चोकमा छात्रामाथि दुर्व्यवहार भएको भन्दै भाइरल बनाइएको भिडियोका आधारमा प्रहरीले दुई युवालाई पक्राउ गरेपछि घटनाको वास्तविकतामाथि प्रश्न उठेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका कम्प्युटर अपरेटर उमेश गजुरेलले मोटरसाइकलमा जडान गरिएको क्यामेराबाट खिचेको भिडियो ‘दिउँसै युवतीमाथि दुर्व्यवहार’ भन्ने आशयमा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियोमा मोटरसाइकलमा पछाडि बसेका युवाले छात्रातर्फ हात लगेको देखिन्छ।
तर, घटनाका भनिएका ‘पीडित’ छात्राहरूले भने आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको बताएका छन्। उनीहरूका अनुसार ती युवाले जेब्रा क्रसिङबाट बाटो काट्न हातले संकेत गरेका मात्र हुन्। आफूहरूलाई नछोएको र त्यहाँ कुनै विवादसमेत नभएको उनीहरूको भनाइ छ।
मोरङ प्रहरीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाउँदै दुई युवालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार छात्राहरूले पनि ‘टच’ नभएको र दुर्व्यवहार नभएको बताएका छन्।
पीडित नै आफू पीडित नभएको बताइरहेका बेला भाइरल भिडियोकै आधारमा पक्राउ गरिएको भन्दै प्रहरीको अनुसन्धान शैलीमाथि प्रश्न उठेको छ।
भिडियोको केही भागलाई जुम र क्रप गरेर अतिरञ्जित रूपमा प्रस्तुत गरिएको आरोपसमेत लागेको छ। घटनाको वास्तविकता नबुझी सामाजिक सञ्जालको दबाबमा कानुनी कारबाही अघि बढाउनु कति उचित हो भन्ने प्रश्न अहिले चर्चामा छ।
