चितवन । चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढमा सुरक्षाको जिम्मेवारी पाएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराज कार्की पछिल्लो समय गम्भीर विवाद र अनियमितताको घेरामा परेको छ।
स्थानीय व्यवसायी, सर्वसाधारण र यातायात मजदुरहरूले इन्स्पेक्टर कार्कीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आर्थिक चलखेल र शक्तिको दुरुपयोग बढेको आरोप लगाएका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नाममा इन्स्पेक्टर कार्कीको आतंक नै छ । इन्स्पेक्टर कार्कीले आईजीपीको भतिज हो भन्दै थर्काउनेसमेत गरेको व्यवसायीहरु बताउँछन्।
स्रोतकाअनुसार वडा प्रहरी कार्यालयकै आडमा रहेको सिर्जना होटलमा प्रहरीकै प्रत्यक्ष संरक्षणमा अवैध गतिविधिहरू सञ्चालन भइरहेका छन्। नियमन गर्ने निकायको नाकमुनि नै यस्ता क्रियाकलाप हुँदा समेत वडा प्रहरी कार्यालय नारायणगढमा मौन रहनुले मिलेमतोको आशंकालाई बल पुर्याएको छ।
त्यति मात्र होइन, सडकमा गुड्ने सवारी साधन, विशेष गरी लाइसेन्स नभएका वा नियम उल्लंघन गर्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नुको साटो आर्थिक लेनदेनका आधारमा छोडिने गरिएको समेत पाइएको छ।
नारायणगढ क्षेत्रका दोहोरी साँझ, रोधीघर र होटलहरूबाट मासिक रूपमा निश्चित रकम असुली हुने गरेको तथ्य पनि बाहिर आएको छ।
व्यवसायीहरूका अनुसार प्रहरीले तोकेको समयमा रकम नबुझाएमा प्रहरी टोली आफैं व्यवसायभित्र प्रवेश गरी ग्राहकलाई त्रसित बनाउने र व्यवसाय नै बन्द गराउनेसम्मको हर्कत गर्ने गरेको छ।
रकम बुझाउने होटल तथा क्लबहरूलाई भने अवैध गतिविधि गर्न समेत छुट दिने गरिएको आरोप पनि छ। यस्तो असुलीका लागि कार्यालयले सिभिल प्रहरी र सवारी चालकहरूलाई परिचालित गर्ने गरेको र सीसीटीभी क्यामेरा नभएका गोप्य कोठाहरूमा लगेर बार्गेनिङ गर्ने गरिएको पीडितहरू बताउँछन्।
प्रहरीको ज्यादती साना व्यवसायी र सडक किनारमा जीविकोपार्जन गर्नेहरूमाथि पनि उत्तिकै देखिएको छ। चिया पसल चलाउने गरिब तथा असक्त व्यक्तिहरूलाई दुःख दिने, उनीहरूको ग्यास सिलिन्डर नियन्त्रणमा लिएर दबाब दिने जस्ता कार्यले प्रहरीको ‘जनमैत्री’ छविमाथि नै प्रश्न उठाएको छ।
त्यतिमात्र होइन उनले रातीको समयमा ड्युटीमा खटिएको कुनै प्रहरीले फुटपातमा चिया बेच्दै आएको व्यक्तिसँग चिया मागेर खाँदा इन्स्पेक्टर कार्कीले तैले उनीहरुलाई चिया खुवाउने, मेरो भाग खोई भन्दै माग्ने गरेको समेत गुनासो छ । जसले गर्दा जिल्ला प्रहरी कार्यालय चितवनका अधिकांश अधिकृत उनीदेखि असन्तुष्ट छन् ।
यातायात क्षेत्रमा पनि नारायणगढ यातायात र नेपाल माइक्रो जस्ता संस्थाहरूबाट मासिक १५ हजार रुपैयाँसम्म असुली हुने गरेको र सवारी रोक्न नमिल्ने ठाउँमा समेत यात्रु चढाउन दबाब दिने गरिएको पाइएको छ।
सबैभन्दा गम्भीर आरोप त लागुऔषध र गाँजा बरामदका घटनामा लागेको छ। यस्ता संवेदनशील विषयमा पनि प्रहरीले आर्थिक लेनदेनलाई प्राथमिकता दिने गरेको र रकम जुटेमा मुद्दा गुपचुप राख्ने नत्र कारबाहीको धम्की दिने गरिएको स्थानीयको दाबी छ।
कार्यालयभित्रको आन्तरिक प्रशासन समेत अत्यन्तै तनावपूर्ण रहेको बताइएको छ। शाखा प्रमुखले आफ्ना माथिल्लो निकायका प्रमुख (एसपी) को निर्देशन समेत अटेर गर्ने र मातहतका कर्मचारीहरूलाई ‘बन्दी’ लाई जस्तै कठोर र अपमानजनक व्यवहार गर्ने गरेको समाचार स्रोतले जनाएको छ।
यस विषयमा सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले त्यस्ता गतिविधि गरेको पाइएमा कडाभन्दा कडा कारबाही गर्ने बताए । उनले भने, केही कुराहरु समाचारमार्फत थाहा पाएको छु। आन्तरिक रुपमा अनुसन्धान सुरु भइसकेको छ। त्यसपछि कारबाही प्रक्रिया अघि बढ्छ ।
प्रहरीभित्रैको यो आन्तरिक कलह र अराजकताले शान्ति सुरक्षा कायम गर्ने संयन्त्र नै धराशयी बन्ने खतरा बढेको छ। स्थानीयले यस्ता अनियमितताको तत्काल उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
यो पनि पढ्नुहोस्…
नारायणगढ वडा प्रहरी: राति होटल चहार्दै असुली, कार्यक्रममै छिरेर हंगामा गर्ने इन्स्पेक्टर टोली
नारायणगढमा प्रहरीकै भूमिकामाथि प्रश्न: असुली र सेटिङका आरोपले तातेको बजार
