काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य सूचना चुहिने विषयलाई गम्भीरतापूर्वक लिन र त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले राज्यका सूचना चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका हुन्। उनले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई नागरिककेन्द्रित, सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रहरी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका काम अघि बढाइने उनको भनाइ थियो।
प्रहरी कर्मचारीको सरुवा तथा बढुवालाई निष्पक्ष र पारदर्शी बनाउने, सेवा–सुविधा वृद्धि गर्ने तथा सेवा अवधि व्यवस्थित गर्ने विषयमा सरकारले पहल गरिरहेको उनले जानकारी दिए। प्रहरीको दरबन्दी थप गर्ने विषयमा समेत सरकार गम्भीर रहेको उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न तथा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने कार्यमा जवाफदेहिता सुनिश्चित गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए।

