काठमाडौं । सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको योजना रहेको बताएका हुन्।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शाहले पठाएको सन्देश प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समारोहमा पढेर सुनाएका थिए। उक्त सन्देशमार्फत प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको तयारीबारे जानकारी गराएका हुन्।
नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना कार्यान्वयनमा आएमा प्रहरीको स्वास्थ्य सेवाको दायरा विस्तार हुनुका साथै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा समेत योगदान पुग्न सक्नेछ।
प्रहरी अस्पतालको क्षमता र सेवा विस्तारसँगै दक्ष जनशक्ति उत्पादन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि पनि यसले नयाँ सम्भावना खोल्न सक्छ।

