चितवन । भरतपुर महानगरको नारायणगढमा रहेको वडा प्रहरी कार्यालयमा विभिन्न प्रकारका अनियमितता तथा आर्थिक चलखेलका आरोपहरू सार्वजनिक भएका छन् ।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रहरीको व्यवहार र गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराज कार्कीको कार्यशैली र प्रभावकारिताबारे स्थानीय स्तरमा गम्भीर बहस सुरु भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीहरू र स्थानीयस्तरमा उठेका गुनासापछि कार्यालय आसपासको अवस्था र प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको हो ।
दुई साताअघि स्थानीय एक पत्रकारले फेसबुकमार्फत् वडा प्रहरी कार्यालय नजिकै अवैध गतिविधि भइरहेको भन्दै सार्वजनिक पोस्ट गरेपछि यो विषय थप चर्चामा आएको हो । उक्त पोस्ट सार्वजनिक भएपछि स्थानीय बासिन्दा, सामाजिक अगुवा तथा सरोकारवालाबीच प्रहरीको निगरानी र नियन्त्रण क्षमताबारे बहस तीव्र बनेको देखिन्छ ।
कमजोर कमाण्डका सुरक्ष चुनौती र डन शैलीको देखिएको छ । यस्तै, लाइसेन्स नभएका वा नियमविपरीत सञ्चालन भएका मोटरसाइकल नियन्त्रणमा लिएर आर्थिक लेनदेनको आधारमा छाड्ने गरिएको दाबी गरिएको छ ।
नारायणगढ क्षेत्रका अधिकांश दोहोरी साँझ तथा रोधीघरबाट मासिक रकम असुल्ने र त्यसबापत अवैध गतिविधि सञ्चालन गर्न छुट दिने गरिएको व्यवसायीहरूको आरोप छ। समयमै रकम नदिएको अवस्थामा प्रहरी आफैं दोहोरी साँझभित्र प्रवेश गरी ग्राहकलाई समेत बाहिर निकाल्ने र व्यवसायमा अवरोध पुर्याउने गरेको गुनासो छ ।
स्थानीयले सडक किनारमा सानो व्यवसाय गर्ने अशक्त व्यक्तिहरूमाथि समेत प्रहरीबाट दुव्र्यवहार हुने गरेको बताएका छन् । चिया पसलेहरूको ग्यास सिलिन्डरसम्म नियन्त्रणमा लिएर दबाब दिने गरिएको आरोप लगाइएको छ ।
यातायात व्यवसायीहरूका अनुसार माइक्रो तथा बस सञ्चालकसँग नियमित बार्गेनिङ गरिने र रोक्न नमिल्ने स्थानमा समेत यात्रु रोक्न दबाब दिने गरिएको छ । चितवन भएर जाने रात्रीबस, माइक्रोबस र विभिन्न ट्रान्सपोर्टका सवारी साधनबाट मासिक रूपमा रकम उठाउने गरिएको छ ।
अन्य जिल्लातर्फ जाने गाडीमार्फत् अवैध सामग्री ओसारपसार हुने भए पनि वडा प्रहरीका प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा कारबाही भन्दा आर्थिक लेनदेनमै केन्द्रित हुने गरेको आरोप छ ।
स्थानीयहरूका अनुसार देशकै केन्द्रभाग नारायणगढबाट विभिन्न ठाउँबाट दैनिक रूपमा शंकास्पद सामग्री बोकेका दर्जनौं सवारी साधन आवतजावत गर्छन् । तर, नियमित चेकजाँच र कानुनी कारबाही कमजोर देखिएको भन्दै इलाकाभित्रबाटै संरक्षण भइरहेको आशंका बढेको छ ।
त्यसैगरी लागुऔषध तथा गाँजा बरामदका घटनामा समेत सेटिङ हुने गरेको आरोप छ । रकममा कुरा मिले विषय बाहिर नल्याउने र नमिले कारबाहीको धम्की दिने गरिएको स्थानीय स्रोतको दाबी छ ।
होटल, क्लब, रोधीघर तथा दोहोरी साँझ सञ्चालकहरूबाट रकम उठाउन सिभिल प्रहरी तथा चालक परिचालन गरिने र प्रहरी कार्यालयभित्र सीसीटीभी नभएको कोठामा लगेर रकम मागिने गरिएको आरोप पनि छ ।
स्थानीय स्रोतका अनुसार केही यातायात संस्थाबाट मासिक रूपमा रकम असुली हुने गरेको दाबी गरिएको छ । नारायणगढ यातायातबाट करिब १५ हजार रुपैयाँ तथा नेपाल माइक्रोबाट १०–१५ हजार रुपैयाँसम्म उठाइने गरेको आरोप छ । तर यसले प्रहरीको कार्यशैली, निगरानी प्रणाली र पारदर्शिताबारे पुनः गम्भीर बहस सुरु गरिदिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा हालै एसपी रामेश्वर पौडेल आएपछि पनि कार्कीको असुली नरोकिएपछि कारबाही गर्न स्थानीयले जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिइसकेको स्रोतको दाबी छ ।
दुई महिनाअघिमात्र नारायणगढको क्याम्पाचौरमा भएको कार्यक्रममा प्रशासनले मदिरा निषेध गरे पनि उनले आफूखुसी मदिरा बिक्रीका लागि सेटिङ गरेको थाहा पाएपछि रोकिएको थियो । त्यो बेला ४० कार्टुन बियर आयोजकबाट जफत गरे पनि २० कार्टुनमात्र देखाई अरु गायब बनाइएको थियो ।
सो खबर स्थानीय सफल खबरका संवाददाता संकल्प सापकोटाले उजागर गरेपछि उनको क्यामरासमेत निरीक्षक कार्कीको टोलीले फुटाइदिएका थिए । तोडफोड भएको क्यामराको क्षतिपूर्ति दिने सहमति यसअघिका एसपी गोविन्द पुरीकै रोहबरमा भए पनि हालसम्म पनि सापकोटाले पाउन सकेका छैनन् ।
आयुष्मान मोटरवोटसँग सेटिङ गरी नदी किनार कब्जा गर्न दिएको आरोप पनि छ । आयुष्मान मोटरबोटसँग सेटिङ गरी महिनावारी लिने गरेको आरोप पनि कार्कीमाथि लाग्दैआएको छ । नारायणी नदी किनारामा मोटरबोट चढ्न पुग्नासाथ जोकोहीले आयुष्मानको दादागिरी देख्ने र भोग्ने गर्दैआएका छन् ।
