चितवन । चितवनको नारायणगढ क्षेत्रमा रहेको वडा प्रहरी कार्यालयको टोलीमाथि पछिल्लो समय गम्भीर आरोपहरू सार्वजनिक हुन थालेका छन्।
स्थानीय होटल व्यवसायीका अनुसार राति १० बजेदेखि मध्यरात १२ बजेसम्म प्रहरीको गाडी लिएर इन्स्पेक्टर नेतृत्वको टोली मासिक रकम नतिरेका होटल तथा व्यवसायिक स्थल बाहिर घुम्ने गरेको आरोप लागेको छ।
नियमित रूपमा मासिक रकम नदिएका होटल तथा व्यवसायलाई लक्षित गर्दै प्रहरी टोली दबाब सिर्जना गर्न पुग्ने गरेको बताइन्छ। व्यवसायीहरूका अनुसार रकम उपलब्ध नगराए विभिन्न बहानामा दुःख दिने, अनावश्यक निगरानी बढाउने तथा त्रास सिर्जना गर्ने कार्य हुने गरेको गुनासो छ।
यस्तै, नारायणगढ क्षेत्रमा आयोजना हुने विभिन्न कन्सर्ट तथा सांगीतिक कार्यक्रममा समेत रकमको लेनदेन नमिले इन्स्पेक्टरसहितको टोली कार्यक्रमस्थलमै प्रवेश गरी आयोजकमाथि दबाब दिने, कार्यक्रम बिथोल्ने र हंगामा मच्चाउने गरेको आरोपसमेत उठेको छ। यसले आयोजक तथा सहभागीहरूलाई असहज बनाएको स्थानीयको भनाइ छ।
नारयणगढस्थित नारायणी नदीमा आयोजित फुडा फेस्टिभलमा समेत इन्स्पेक्टरको टोलीले हस्तक्षेप गरेको थियो। जब पछि कुरा मिलेपछि कार्यक्रम सुरु गरिएको थियो । यसरी इन्स्पेक्टर आफै घटनास्थल पुग्नुले थप शकालाई बलियो बनाउने गरेको छ।
व्यवसायीहरू भन्छन्, ‘कानुन कार्यान्वयन गर्ने निकाय नै रकम असुली र धम्कीको माध्यम बनेपछि कसरी व्यवसाय गर्ने ?’ प्रहरीको यस्तो गतिविधिले नारायणगढको व्यवसायिक वातावरण नै प्रभावित बन्दै गएको उनीहरूको गुनासो छ।
