पर्सा, पर्सागढी । पर्सागढी नगरपालिका वडा नं. ६ चैनपुरका दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन्। बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका स्थानीय दिग्गज नेता प्रयाग यादव, जोधा यादव, ब्रम्हदेव यादव, रामेश्वर यादव, मेघु राय, रामबाबु साह, ढोरा सहनी, मोहिपाल राउत, दिलिप सिंह, सिकेन्द्र रामलगायत एमालेमा आबद्ध भएका हुन्। यसैगरी नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी गायत्री देवी सहनी, सरिता देवी राम, सुरेन्द्र यादव लगायत पनि एमालेमा समावेश भएका छन्। वडा नं. ६ का बुथ सभापति काशी यादवको पहलमा उनीहरू पार्टी प्रवेश गरेको जनाइएको छ।
नवप्रवेशीलाई एमाले मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव तथा उम्मेदवार रिमा यादव लगायत नेताहरूले अबिर–टिका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै यादवले पार्टी प्रवेशसँगै संगठन थप सुदृढ भएको उल्लेख गर्दै आगामी फागुन २१ गते सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरिन्। स्थानीय स्तरमा काँग्रेसका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेपछि चैनपुर क्षेत्रमा काँग्रेस कमजोर बन्दै गएको राजनीतिक विश्लेषण गरिएको छ।
स्थानीय राजनीतिक वृत्तले यस घटनालाई पर्सागढी क्षेत्रको चुनावी समीकरण बदल्ने महत्वपूर्ण कदमका रूपमा हेरिरहेको छ। यसअघि वडा नं. ३ मा बिक्रम कार्की को नेतृत्वमा भएको एमाले प्रवेशपछि चैनपुरको यो नयाँ लहरले पर्सागढीभरि एमालेको आधार विस्तार भइरहेको संकेत दिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
