काठमाडौं । नेपाली कांग्रेसको प्रवासमा रहेको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन अगष्ट १४, १५ र १६ गते अमेरिकाको भर्जिनिया राज्यमा हुँदैछ। महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाभित्र युवा नेतृत्व स्थापित गर्ने उद्देश्यसहित अमेरिकाभरका नेपाली युवाहरू एकताबद्ध हुन थालेका छन्।
‘हामी जोडियौं, हामी जोडिँदै जानेछौं’ भन्ने नारासहित सुरु गरिएको अभियानले छोटो समयमै अमेरिकाका विभिन्न राज्यमा रहेका कांग्रेससमर्थक युवाहरूको उल्लेखनीय साथ पाएको अभियन्ताहरूले बताएका छन्।
अभियानको मूल उद्देश्य संस्थाको नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नु, संगठनलाई थप पारदर्शी र जवाफदेही बनाउनु तथा युवालाई केवल प्रयोग गर्ने होइन, नेतृत्व गर्ने अवसर दिलाउनु रहेको जनाइएको छ।
यस अभियानको औपचारिक शुभारम्भसँगै अमेरिकाका विभिन्न राज्यबाट युवाहरू स्वस्फूर्त रूपमा जोडिँदै गएका छन्। अभियान कुनै गुट वा समूहको नभई संस्थाको भविष्यलाई केन्द्रमा राखेर अघि बढाइएको अभियन्ताहरूको दाबी छ।
अभियानलाई थप सशक्त बनाउन आज राति अमेरिकी समयअनुसार ९ः३० बजे अर्थात नेपाली समयअनुसार बिहान ८ बजे जुममार्फत युवा सम्मेलन आयोजना गरिएको छ। सम्मेलनमा महाधिवेशनको तयारी, युवा नेतृत्वको आवश्यकता, संगठनमा पुस्तान्तरण, पारदर्शी कार्यशैली तथा संस्थागत सुधारका विषयमा खुला छलफल हुने बताइएको छ।

अभियानमा सहभागी युवाहरूले लामो समयदेखि युवालाई संगठन विस्तार, चुनावी अभियान र कार्यक्रम व्यवस्थापनमा मात्र सीमित राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखेका छन्।
उनीहरूका अनुसार अब युवालाई निर्णय गर्ने तहमा पुर्याउने समय आएको छ। सक्षम, इमानदार, ऊर्जाशील र जिम्मेवार नेतृत्वमार्फत जनसम्पर्क समितिलाई अझ प्रभावकारी र विश्वासिलो संस्था बनाउनुपर्ने उनीहरूको साझा प्रतिबद्धता छ।
युवा अभियानलाई अनुप खनाल, राजकुमार हमाल, महेन्द्र बस्नेत, गोविन्द सापकोटा, दीपेन्द्र अधिकारी, सुशील खत्री, नवराज न्यौपाने, अन्बी खनाल, अनुभव मरासिनी, अनिल आर्चाय, किरण पण्डित, राज शर्मा, सुरेन्द्र लौडारी, निकेश पोखरेल, सन्तोष लम्साल, उत्तम धमला, निश्चल चापागाईलगायतका युवाहरूले स्वस्फूर्त रूपमा अघि बढाइरहेका छन्।
उनीहरूका अनुसार यो अभियान कुनै व्यक्तिविशेषका लागि नभई संस्थामा पुस्तान्तरण, लोकतान्त्रिक अभ्यास र युवाको सम्मानजनक सहभागिताका लागि सञ्चालन गरिएको हो।
महाधिवेशनअघि सुरु भएको यो अभियानले जनसम्पर्क समिति अमेरिकाभित्र युवा नेतृत्वको बहसलाई थप बलियो बनाएको छ। महाधिवेशनमा नयाँ पुस्ताको प्रभावकारी उपस्थिति र नेतृत्व स्थापित गर्न सकिए संस्थाको आगामी यात्रा अझ सुदृढ र गतिशील बन्ने विश्वास अभियानमा संलग्न युवाहरूले व्यक्त गरेका छन्।
अभियानमा युवासँगै महिलाहरूको पनि उल्लेखनीय सहभागिता देखिएको छ। संस्थामा समावेशी नेतृत्वको अभ्यासलाई बलियो बनाउन महिला नेतृत्वलाई समेत प्राथमिकतामा राखिनुपर्नेमा अभियानमा सहभागी युवाहरूले जोड दिएका छन्। उनीहरूका अनुसार युवा र महिलाको समान सहभागिताले मात्रै संगठनलाई थप सशक्त, समावेशी र गतिशील बनाउन सकिन्छ।

