बारा । बाराको मटिआर्वा नाका रातिको समयमा तस्करीको केन्द्र बनेको छ। प्रहरी चौकी मटिआर्वाको संरक्षणमा ठूलो मात्रामा अवैध सामान ओसारपसार भइरहेको स्थानीय बताइन्छ।
स्थानीय स्रोतका अनुसार, उक्त नाकाबाट रातीको समयमा लत्ताकपडा, हार्डवेयर, काजु, जुत्ता–चप्पल, कवाड, चाइनिज मकै, रजनीगन्धा, फर्सीको बीउ तथा प्रतिबन्धित पटाकासमेत ओसारपसार हुने गरेको छ। जतिबेला झन्डै एक दर्जनभन्दा बढी तस्कर समूह सक्रिय हुने गरेको स्रोत बताउँछ।
प्रहरी चौकी प्रमुखमाथि संरक्षणको आरोप
प्रहरी चौकी मटिआर्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) राकेश साह छन्। साह चौकी प्रमुख भएर आएपछि नाकाबाट तस्करी बढेको स्थानीयको आरोप छ। उनीहरूले रातिको समयमा अवैध सामानको ओसारपसार बढेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
नाम सार्वजनिक नगर्ने सर्तमा एक व्यक्तिले प्रहरीका उच्च अधिकारीको नामसमेत जोडेर रकम असुली हुने गरेको आरोप लगाएका छन्। उनका अनुसार, जिल्लाका प्रहरी अधिकारीदेखि डीआईजीसम्मको नाम लिएर रकम उठाउने गरिएको छ।
दिनमा कडाइ, राति तस्करीलाई सहज ?
स्थानीयको गुनासोअनुसार, दिउँसो घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणले समेत जाँच र नियन्त्रणको सामना गर्नुपर्छ। तर, रातिको समयमा ठेलामा सामान ओसारपसार हुँदा भने प्रभावकारी निगरानी नहुने गरेको उनीहरूको आरोप छ।
रातिको समयमा ठेलामार्फत कवाड भारततर्फ लैजाने र त्यसैको आडमा कपडा, मकै तथा अन्य सामान नेपाल भित्र्याउने गरिएको स्रोतको दाबी छ। यस्तो गतिविधि नियमित रूपमा भइरहेको भए पनि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएको स्थानीयको गुनासो छ।
घुमुवा प्रहरीमार्फत रकम उठाउने गरेको दाबी
नाकामा सक्रिय समूहबाट घुमुवा प्रहरीमार्फत रकम संकलन हुने गरेको आरोपसमेत लागेको छ। स्रोतका अनुसार, तस्करीका गतिविधि सहज रूपमा सञ्चालन गर्न विभिन्न तहमा रकम बुझाउने गरिएको दाबी छ।
सीमावर्ती नाकामा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी सुरक्षाकर्मीको हो। तर, प्रहरीकै संरक्षणमा तस्करी भइरहेको आरोप सत्य भए त्यसले सीमा सुरक्षामाथि गम्भीर प्रश्न खडा गर्छ।

