धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले आफूप्रति कपोकल्पित आरोप लगाउने लक्ष्मेश्वर यादवले आफ्नो इच्छाअनुसार विवाह छुटाउन प्रहरीलाई दबाब दिएको र नमानेपछि हजारौँ मानिस ल्याएर प्रहरी कार्यालय घेर्ने धम्की दिएको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, हंसपुर नगरपालिका–४, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा तथा एसपी खड्कालाई लक्षित गरी आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र तथ्यहीन टिप्पणी गरेका थिए।
प्रहरीका अनुसार, यादवले आफ्नो एक पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। सो विषयमा बुझ्ने क्रममा ती महिला काठमाडौं जिल्ला अदालतबाट २०८३ असोज १८ गते नै विवाहको नाता कायम गरिसकेको र असोज १४ गते आफ्ना पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ- उक्त घटनाबारे निवेदक तथा परिवारका अन्य सदस्यसँग प्रत्यक्ष कुराकानी गरी विवाहसम्बन्धी प्रमाणसमेत देखाइएको थियो। तर, यादवले आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, यादवले आफ्नो पदको दुरुपयोग गरी अनुचित दबाब दिनुका साथै नगरमा हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेर्ने धम्कीसमेत दिएका थिए। यही विषयलाई लिएर यादवले सार्वजनिक कार्यक्रममा प्रहरी प्रशासन र एसपी खड्कालाई लक्षित गरी गरेको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालयले आपत्ति जनाएको हो।
एसपी खड्काले आफूले निरन्तर व्यावसायिकता, इमानदारिता र लगनशीलताका साथ नागरिकको सेवामा काम गरिरहेको उल्लेख गर्दै व्यक्तिगत मर्यादामा आँच आउने गरी लगाइएका आरोपको खण्डन गरेका छन्। उनले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्न चुनौती दिँदै भ्रममा नपर्न र अपुष्ट सामग्री सामाजिक सञ्जालमा जथाभावी सेयर नगर्नसमेत अनुरोध गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम उपचारको प्रक्रियामा जाने जानकारीसमेत दिएको छ।


