सोमबार,।नेकपा एमालेले वीरगंज महानगरपालिका वडा नम्बर–३ को चुनावी वडा भेला सोमबार सम्पन्न भएको छ। वडा कमिटीका उपाध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताइन्। उनले जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउने र क्षेत्रको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।
“स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाउँछु,” उनले भनिन्, “किसान, युवा, महिला र गरिब समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइनेछ।”
मालपोत चौकमा आयोजित भेलामा पार्टीका नेताहरूले पर्सा क्षेत्र नम्बर–२ बाट उम्मेदवार रिमा यादवलाई विजयी बनाउन आग्रह गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, जिल्ला सचिव महेश दास, क्षेत्र नम्बर–२ का संयोजक मनोज कुशवाह, वडा अध्यक्ष वैजु सुवर्णकार, नेता खैरुदिन हवारी, महानगर उपाध्यक्ष लियाकत अली, नविदिन हवारीलगायतले मन्तव्य व्यक्त गर्दै पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
त्यस्तै, राजेशमान सिंहले शुभकामना सन्देश दिँदै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरेका थिए। उनले विकासका योजनामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
भेला सम्पन्नसँगै एमालेले वीरगञ्ज–३ मा चुनावी अभियान थप तीव्र बनाउने जनाएको छ। स्थानीय नेताहरूका अनुसार घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने निर्णय गरेको छ । भेलाको सहजीकरण निरन्जन मिश्रले गरेका थिए।


