विराटनगर । पसलमा सामान चोरी गरेको आरोप लगाएको रिसमा विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३७ वर्षीय अब्जर मियालाई पक्राउ गरेको छ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार मियालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा गुप्ताले आफ्नो पसलबाट सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए। यही विषयलाई लिएर मियाले हत्या गर्ने योजना बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। त्यहाँ दुवैले मदिरा सेवन गरेका थिए। सोही क्रममा मियाले बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले समेत प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या गरेपछि मियाले शव व्यवस्थापन गर्न सिटी सफारी प्रयोग गरेको प्रहरीको भनाइ छ। शव बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा फालिएको अनुसन्धानमा खुलेको छ।
आइतबार बिहान स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी उपरीक्षक मल्लसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवको पहिचान गर्दै हत्यामा संलग्न व्यक्तिको खोजी र अनुसन्धान अघि बढाएको थियो।
एसपी मल्लले पक्राउ परेका व्यक्तिको संलग्नता देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। हत्यामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए।
भारतको उत्तर प्रदेशस्थित वाराणसीका स्थायी बासिन्दा गुप्ता लामो समयदेखि विराटनगर महानगरपालिका–६, महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।
घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङको संयुक्त टोलीले गरिरहेको छ। प्रहरीले हत्याको कारण, घटनाको विस्तृत परिस्थिति र शव व्यवस्थापनमा प्रयोग भएका साधनबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

