वीरगन्ज । नेपाली कांग्रेसका नेता तथा पूर्व कानुनमन्त्री अजय कुमार चौरसियाका लागि पर्सा क्षेत्र नम्बर २ यतिबेला फलामको चिउरा चपाउनु सरह बनेको छ। निर्वाचन नजिकिँदै गर्दा चौरसियामाथि लागेका ‘टुरिष्ट उम्मेदवार’ र ‘न्यायालयका बिचौलिया’ जस्ता गम्भीर आरोपहरूले उनको चुनावी प्रचारलाई निकै कमजोर बनाएको छ।
क्षेत्र नम्बर ३ मा आफ्नो राजनीतिक धरातल सुरक्षित नदेखेपछि क्षेत्र नम्बर २ मा सरेका चौरसियालाई मतदाताले ‘गेटावे’ उम्मेदवार (पलायनवादी) को रूपमा हेरेका छन्। स्थानीय अगुवाहरू भन्छन्, “आफ्नै छिमेकी र गाउँलेको विश्वास जित्न नसकेर क्षेत्र फेर्दै हिँड्ने नेताले हाम्रो विकास गर्छन् भन्नेमा कुनै ग्यारेन्टी छैन।”
चौरसिया कानुनमन्त्री हुँदा गरेका विवादास्पद निर्णयहरू अहिले उनको घाँटीको पासो बनेका छन्। न्यायाधीश नियुक्तिमा नातावाद र कृपावाद लादेको तथा अदालतका फैसलाहरूमा शक्ति र पहुँचको दुरुपयोग गरेको विषयलाई विपक्षी र रुष्ट मतदाताले प्रमुख अस्त्र बनाएका छन्।
पूर्व मन्त्री चौरसियासंग उनका मतदाताले “न्यायाधीशलाई फोन गरेर मुद्दा सेटिङ गर्ने मन्त्रीले विकासका योजना होइन, व्यक्तिगत स्वार्थको मात्र खेती गर्छन्। यस्ता व्यक्तिलाई किन जिताउने?”भनी प्रश्न गरिरहेका छन् ।
पार्टीको गढ मानिए पनि अजय चौरसियाको कार्यशैलीप्रति कांग्रेसका पुराना कार्यकर्ताहरू नै रुष्ट छन्। पार्टीभित्रको गुटबन्दी र ‘टुरिष्ट’ संस्कृतिलाई प्रश्रय दिएको भन्दै स्थानीय कांग्रेसीहरूले मौन रूपमा वा खुला रूपमै विरोध जनाउन थालेका छन्। आफ्नै संगठनको जग हल्लिएपछि चौरसियाको चुनावी बाटो निकै असहज र जोखिमपूर्ण देखिएको छ।
