काठमाडौं । जातीय विभेद तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही अघि बढाउने विषयमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच छलफल भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा जातीय विभेद तथा छुवाछुतको अन्त्य, हिंसापीडितको संरक्षण र सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो।
छलफलमा जातीय विभेद तथा छुवाछुतका घटनालाई गम्भीरतापूर्वक लिँदै निष्पक्ष अनुसन्धान गर्ने र दोषी देखिएकालाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउने विषयमा जोड दिइएको थियो। साथै, पीडितलाई न्यायको अनुभूति गराउन प्रहरीको भूमिका थप प्रभावकारी बनाउनुपर्ने विषय उठाइएको थियो।
जातीय विभेदका घटनामा पीडितले सहज रूपमा उजुरी दिन सक्ने वातावरण निर्माण गर्ने, उजुरीमाथि शीघ्र अनुसन्धान गर्ने र पीडितमैत्री व्यवहार सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको थियो। यस्ता घटनामा पीडितले न्यायका लागि विभिन्न कठिनाइ भोग्नुपर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
त्यसैगरी, नेपाल प्रहरीअन्तर्गतका दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, जातीय विभेदसम्बन्धी कानुनी व्यवस्थाबारे प्रहरी कर्मचारीलाई जानकारी गराउने तथा अनुसन्धान प्रक्रियालाई व्यवस्थित बनाउने विषयसमेत छलफलमा समेटिएको थियो।
भेटवार्तामा महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण तथा हिंसापीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। पीडितको सुरक्षा, पुनर्स्थापना र न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच सहकार्य बढाउनुपर्नेमा जोड दिइएको थियो।
जातीय विभेद तथा छुवाछुत कानुनले निषेध गरेको गम्भीर सामाजिक अपराध भएकाले यस्ता घटनाको प्रभावकारी अनुसन्धान र कानुनी कारबाहीमार्फत पीडितलाई न्याय दिलाउनु राज्यका सम्बन्धित निकायको दायित्व हो।
मन्त्री बादी र आईजीपी कार्कीबीचको छलफललाई जातीय विभेद तथा हिंसाविरुद्ध प्रहरीको भूमिका थप प्रभावकारी बनाउने र पीडितको न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा केन्द्रित भेटवार्ताका रूपमा हेरिएको छ।

