काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालनमा रहेको फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ ।
बैंकले सोमबार आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा छैटौँ समूहका २० जना सहभागीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । सो अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनीसमेत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष पौडेलले नबिल एसएसईले युवालाई उद्यममार्फत स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नबिल एसएसईका प्रशिक्षार्थीले हालसम्म १७ हजार रोजगारी सिर्जना गरिसकेको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले पाँच वर्षअघि सुरु गरिएको यस कार्यक्रमका सहभागीलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे । सुरुमा नबिल बैंक र त्रिभुवन विश्वविद्यालयको मात्र सहकार्यमा सुरु भएको कार्यक्रम अहिले विभिन्न सरोकारवाला पक्षको साझा कार्यक्रम बनेको उनको भनाइ छ ।
“पाँच वर्षको यात्रामा करिब २०० उद्यम स्थापना भई १७ हजारभन्दा बढी रोजगारी सिर्जना भएका छन्,” चौधरीले भने । उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङले नबिल एसएसई सुरुदेखि नै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले नबिल बैंकसँगको सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भइसकेको जानकारी दिँदै यो कार्यक्रम कक्षाकोठामा मात्र सीमित नभई व्यवहारिक र अनुभवमा आधारित रहेको बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले स्वागत मन्तव्य दिँदै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलतामा विशेष जोड दिँदै आएको बताए । उद्यमशीलतामार्फत देशको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।
नबिल बैंकले सन् २०२१ नोभेम्बर २६ देखि मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नबिल एसएसई’ सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको फेलोसिप कार्यक्रम छ महिनाको अवधिको हुन्छ । सहभागीले प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिने र बाँकी समय आफ्नै कार्यस्थलमा काम गर्ने व्यवस्था गरिएको छ । प्रशिक्षण अवधिभर मेन्टरको व्यवस्था गरी व्यवहारिक समस्याको समाधानमा सहयोग गरिन्छ ।
फेलोसिप कार्यक्रमअन्तर्गत हालसम्म ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरूले ६२ उद्यम सञ्चालन गर्दै १४ हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।
त्यसैगरी नबिल बैंकले देशका विभिन्न १० शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ । सातै प्रदेशबाट एक हजार ६९ जनाले यसबाट लाभ लिइसकेका छन् । उनीहरूले १३१ उद्यम सञ्चालन गरी दुई हजार पाँच सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल एसएसईलाई बैंकले सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासमा योगदान दिने मुख्य माध्यमका रूपमा अघि बढाएको जनाएको छ ।
